images
images

शिक्षक आन्दोलनमा राजनीतिक दलः माओवादीको ऐक्यबद्धता, कांग्रेस शीर्ष तहको वार्ताको पक्षमा

  • २५ चैत्र २०८१, सोमबार १५:३२

काठमाडौँ । शिक्षकहरुले आन्दोलनलाई तीव्रता दिईरहेका बेला राजनीतिक दलहरु पनि सकारात्मक देखिन थालेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आन्दोलनमा ऐक्यबद्धता जनाएको छ भने सत्तासाझेदार दल नेपाली कांग्रेस पनि माग पुरा गर्नुपर्ने पक्षमा देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज विज्ञप्ती जारी गर्दै शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो । पार्टी प्रबक्ता अग्निप्रसाद सापकोटाले बिज्ञप्ति जारी गर्दै शिक्षकको आन्दोलनप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो ।

माओवादी केन्द्रले सरकार र शिक्षक महासँघबीच विगतमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गरि शिक्षकहरुको माग पुरा गर्न सरकारसँग माग समेत गरेको छ । विशेष अधिवेशन वा अन्य उपायबाट विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकहरुलाई शैक्षिक जिम्मेवारी पुरा गर्ने वातावरण बनाउन पनि माओवादी केन्द्रले सरकारसहित सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ । माओवादी केन्द्रले सरकार शिक्षकहरुको मागप्रति उदासीन रहेको आरोप लगाएको छ ।

यसैबीच, नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकसँग सरकार प्रमुखकै तहबाट शीघ्र वार्ताको पहल गर्न आग्रह गरेको छ । कांग्रेसको शिक्षा विभागले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै प्रधानमन्त्रीलाई समस्या समाधानका लागि आग्रह गरेको हो। बिज्ञप्तिमा नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरु सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट सीघ्र वार्ता र संवादको पहल थाल्न आग्रह गरिएको छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आज कालो मास्क लगाएर मौन प्रदर्शन गरेका छन् । उनीहरूले काठमाडौंको माइतीघरमा कालो मास्क लगाएर जुलुस निकालेका हुन् । शिक्षकहरूले कहिले सडकमै सुतेर तथा कहिले सिटी फुकेर सडकबाट सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।