भक्तपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ ।
लामो समयदेखि ठप्प रहेको प्रदेश सभा बैठक करिब ८ महिनापछि पुनः सञ्चालनमा आएको हो । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवनमा आगजनी भई भवन ध्वस्त बनेपछि बैठक अवरुद्ध भएको थियो ।
त्यसपछि बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका परिसरमा निर्माण गरेको अस्थायी सभाहलमा बैठक सञ्चालन गरिएको हो । सो सभाहलमा समेत आगलागी भए पनि पूर्ण क्षति नभएकाले मर्मतपछि बैठक सञ्चालन गर्न योग्य बनाइएको थियो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत लिएपछि बसेको यो पहिलो बैठक हो ।
कार्यसूचीमा सभामुखको विषय
प्रदेशसभाबाट सभामुख चयनको प्रक्रिया अघि बढाउन राजनीतिक दलहरु सहमत भएका छन् । प्रदेशसभा बैठक अघि बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठकमा सत्तारूढ र विपक्षी दलहरू सभामुख नियुक्तिको प्रक्रियालाई अघि बढाउन सहमत भएका हुन् । सो सहमतिअनुसार प्रदेश सभाको बैठकको कार्यसूचीमा सभामुखको विषयले प्रवेश पाउने भएको छ ।
बैठकमा उपसभामुख अप्सरा चापागाईंले तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट दिएको राजीनामापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । पत्र प्रस्तुत भएको १५ दिनभित्र सभामुख चयन प्रक्रियाका लागि कार्यतालिका तयार गर्नुपर्छ ।
१५ दिनभित्र नयाँ सभामुख चयन
संवैधानिक व्यवस्थाअनुसार, सभामुखको राजीनामा वा पद रिक्त भएको १५ दिनभित्र नयाँ सभामुख चयन गरिसक्नुपर्छ । जेनजी आन्दोलनका क्रममा तत्कालीन सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामाको घोषणा गरेका थिए भने असोज १ गते नै राजीनामापत्र सदनमा पठाएका थिए ।
सो समयमा सदन चल्न नसकेका कारण औपचारिक रूपमा पत्र पेश हुन सकेको थिएन । सरकारले सदन नचलाई अधिवेशन अन्त्य गरेपछि उपसभामुख अप्सरा चापागाईंले मंसिर ४ मा सभामुखको राजीनामाका बारेमा जानकारी गराउन सूचना जारी गरेकी थिइन् ।
उक्त सूचना आजको बैठकबाट पेश भई प्रक्रिया सुरु भएपछि आगामी १५ दिनभित्र नयाँ सभामुख चयनको प्रक्रिया अघि बढ्नेछ ।



हाम्रो अपडेट 






