काभ्रेपलाञ्चोक । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन् ।
गृहमन्त्री गुरुङले बीपी लोकमार्ग अन्तर्गत रोशी खोलाको स्थलगत निरीक्षण गरेका हुन् । उनी बाढीका कारण स्थानीयले भोग्दै आएको समस्याबारे प्रत्यक्ष अवलोकनका लागि मंगलबार दिउँसो सो क्षेत्रमा आईपुगेका थिए ।
वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि मन्त्री गुरुङ उक्त क्षेत्रको प्रत्यक्ष अवलोकनमा पुगेका हुन् । उनले नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संगमस्थलमा पर्ने चौकीडाँडा पुगेर अवलोकन गरेका छन् ।
अवैध क्रसर बन्द गर्न निर्देशन
नीरिक्षणका क्रममा गृहमन्त्री गुरुङले रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो व्यक्त गरे । पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रूपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने बताए ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गरेका छन् । वर्षायाममा हरेक वर्ष बाढी आउने हुँदा बीपी लोकमार्गको रोशी खोला आसपासमा क्षेत्रमा समस्या हुने गरेको छ ।
बाढीले सडक क्षतिग्रस्त भएपछि मौसम प्रतिकुल हुनेवित्तिकै बीपी लोकमार्गमा सडक अवरुद्ध हुने गरेको छ ।



हाम्रो अपडेट 






