images
images

वैतेश्वरमा पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिता हुँदै

दोलखा । दोलखामा डेढ लाख पुरस्कार राशीको अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

जिल्लामा डेढ लाख पुरस्कार राशीको प्रथम दोलखा जिल्लास्तरीय अन्तरपालिका पशुपति चौँलागाई स्मृति पुरुष भलिबल प्रतियोगिता २०८१ सञ्चालन हुन लागेको हो । पशुपति चौँलागाई फाउण्डेशनको आयोजनामा हुने प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवम् नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । फाउण्डेशनको आयोजना र काब्रे युवा सञ्जालको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता आगामी जेठ ३ गतेदेखि सुरु हुनेछ । प्रतियोगिताको प्रथम पुरस्कार राशी नगद १ लाख ५० हजार, द्धित्तीय पुरस्कार राशी एक लाख र तृतीय पुरस्कार ५० हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र रहेको खेल व्यवस्थापन समितिका संयोजक रविन दाहालले जानकारी दिनुभयो । यसका साथै उत्कृष्ट खेलाडीहरुलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा सहभागिताका लागि यही बैशाख २७ गतेदेखि जेठ २ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । स्वर्गीय सांसद पशुपति चौँलागाईको स्मृतिमा पहिलो पटक हुन लागेको प्रतियोगिता बैतेश्वर गाउँपालिका ५ स्थित मैनापोखरीबाट ८ सय मिटर माथी रहेको देउराली खेल मैदानमा हुनेछ । पाँच दिनसम्म चल्ने प्रतियोगिताको सहरी विकास मन्त्री धनबहादुर बुढाले समापन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
दोलखाको वैतेस्वर गाउँपालिका वडा नम्बर ४ काब्रे स्थायी घर भएका स्वर्गीय सांसद पशुपति चौलागाईको २०७८ बैशाख २८ गते कोरोना संक्रमणका कारण निधन भएको थियो । चौँलागाईको स्मृतिमा उनकै गृहगाउँमा खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो ।