images
images

दोलखामा ३ वर्षको अवधिमा १५९ जनाले गरे आत्महत्या, महिला भन्दा पुरुषको संख्या दोब्बर

दोलखा । दोलखा जिल्लामा पछिल्लो समय आत्महत्याको घटना बढ्दै गएको छ ।

तीन वर्षको अवधिमा १ सय ५९ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्यांकलाई हेर्दा जिल्लामा आत्महत्याको दर बढ्दै गएको छ । प्रहरीका अनुसार जिल्लामा तीन वर्षको अवधिमा १ सय ६ जना पुरुष र ५३ जना महिला गरी १ सय ५९ जनाले आत्महत्या गरेका छन् । दोलखामा महिलाको तुलनामा आत्महत्या गर्ने पुरुषको सँख्या दोब्बरले बढी रहेको छ । आत्महत्या गर्ने मध्ये १८ जना बालबालिका रहेका छन् । दोलखा प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ५७, २०७९/८० मा ५० र चालु आर्थिक बर्षको जेठ २० गतेसम्मको अवधिमा ५२ जनाले आत्महत्या गरेका हुन् ।

आर्थिक बर्ष २०७८/७९ मा ३९ जना पुरुष र १८ महिला, २०७९/८० मा ३१ जना पुरुष र १९ जना महिला तथा चालु आर्थिक वर्षमा ३६ पुरुष र १६ जना महिलाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरिक्षक जिवन श्रेष्ठका अनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या सवैभन्दा बढी रहेको छ । दोलखामा ३ वर्षको अवधीमा झुण्डिएर १ सय २२ जना, बिष सेवन गरेर २५, हाम फालेर ४ जना तथा आफैंले घाँटी रेटेर १ जनाले आत्महत्या गरेका थिए ।

दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्काले आत्महत्या गर्नुको कारण आर्थिक अभाव, मानसिक रोग, पारिवारिक बेमेल, रोजगारी, व्यापारमा असफलता लगायतका कारण प्रमुख रहेको बताउनुभयो । यस्तै, सचेतनाको कमी, दुरदराजमा स्वास्थ्य, शिक्षाको कम पहुँच, मदिरा सेवन, विवाहेत्तर सम्बन्ध, दीर्घ रोग वा रोगको महँगो उपचारवापत लाग्ने खर्चका कारण आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । जिल्लामा आत्महत्याको बाटो रोज्ने बालवालिका र किशोरकिशोरीहरुको संख्या पनि बढ्दै गएको छ ।

सामाजिक सञ्जालमा भएका खेल र संगतको कारण पनि नयाँ पुस्ताले आत्महत्याको बाटो रोज्दै गएको हुन सक्ने अध्ययनले देखाएको छ । यद्यपि आत्महत्याका कारणबारे बिस्तृत अध्ययन, अनुसन्धान हुन सकेको छैन । विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्नेमा एसियाली मुलुकहरुमा नेपाल सातौं स्थानमा पर्दछ । नेपालमा आर्थिक वर्ष २०७७/७८ मा ६ हजार ८ सय ३०, २०७८/७९ मा ६ हजार ७ सय ९२ र २०७९/८० मा ६ हजार ९ सय ७४ जनाले आत्महत्या गरेका थिए ।