
जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रीपरिषद विस्तार गरेका छन् ।
आजै मुख्यमन्त्री बनेका सिंहले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी, नेपाल समाजबादी पार्टी र नागरिक उन्मुक्ती पार्टीका नेताहरुलाई समेटेर मन्त्रीमण्डल गठन गरेका हुन् । एमालेबाट मधेश प्रदेशमा चार जना मन्त्री बनेका छन् भने माओवादी र समाजवादीले दुई दुई मन्त्री पाएका छन् । एमालेबाट सरोजकुमार यादव भौतिक पुर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति मन्त्री, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री र प्रमोद जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्री बनेका छन् ।
यस्तै, माओवादी केन्द्रका भरतप्रसाद साह अर्थमन्त्री र युवराज भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त गरिएको छ । एकिकृत समाजबादीबाट गोविन्दबहादुर न्यौपाने भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली उर्जा तथा सिञ्चाईमन्त्री बनेका छन् । मुख्यमन्त्री सिहंले नेपाल समाजबादीकी विमला अंशारी तरुनमलाई गृह सञ्चार तथा कानुन मन्त्रालय र नागरिक उन्मुक्ती पार्टकी उर्मिला देवी सिंहलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । मधेश प्रदेशमा तीन जना राज्यमन्त्री बनेका छन् । आज बिहान मुख्यमन्त्री बनेका सिंहले पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रीपरिषद विस्तार गरेका हुन् ।
६ दलका ५५ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावि पेश गरेका सिंहलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिईन् ।