दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोवार ठप्प भएको छ ।
कालिञ्चोकमा एक सातादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोवार ठप्प हुनुका साथै प्रशासनिक काम समेत प्रभावित भएको छ । चालु आर्थिक वर्षको अन्त्यमा आर्थिक कारोवार ठप्प हुँदा योजना भुक्तानी, आर्थिक, प्रशासनिक कामकाज प्रभावित बन्न पुगेको हो । कालिञ्चोक गाउँपालिकामा एक वर्षको अवधीमा ३ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीको सरुवा पछि उनको स्थानमा तिलकप्रसाद रिजाल आएपनि उनी ३ महिनामै सरुवा भएर गएका छन् ।
२०७६ सालमा कालिञ्चोक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीको गत फागुनमा सरुवा भएको थियो । उनले लगातार ४ वर्ष कालिञ्चोक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । ओली सरुवा भएर गएपछि गत फागुन २० गते कार्यालय हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद रिजाल ३ महिनामै सरुवा भएर गएका हुन् । उनको जेठ १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको हो ।
रिजालको सरुवापछि कालिञ्चोक गाउँपालिकामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर बस्नेत आउने भनि यही जेठ १८ गते पत्र प्राप्त भए पनि उनी हालसम्म कार्यालय हाजिर भएका छैनन् । कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले प्रमुख प्रशासकीय अधिकृत बस्नेत आईतवार कार्यालय हाजिर हुने जानकारी प्राप्त भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृतको सरुवापछि कालिञ्चोक गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रोशनी आचार्यको भरमा चलिरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रिजालको सरुवा भएसँगै आठौँ तहका शाखा अधिकृत रोशनी आचार्यलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिईएको हो । तर, उनलाई आर्थिक अधिकार दिइएको छैन । आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुँदा दैनिक प्रशासनिक कामकाज ठप्प हुनुका साथै विकास निर्माणका योजनाको भुक्तानी रोकिएको छ । योजनाको फरफारक गरी अन्मित भुक्तानी लिने बेला गाउँपालिका प्रमुख प्रशासकीय विहिन भएपछि सेवाग्राही मारमा परेका छन् ।
गाउँपालिकाको विकास निर्माण, योजनाको भुक्तानी तथा आर्थिक कारोवार ठप्प भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको आगामी बर्षको योजना, कार्यक्रम तथा बजेट निर्माणको काम समेत प्रभावित हुन पुगेको छ ।



हाम्रो अपडेट 






