images
images

जिरी अस्पताल अब प्रदेश मातहत सञ्चालन हुँदै, शैया र सेवा सुविधा थप हुने

जिरी (दोलखा) । दोलखाको जिरी अस्पताल प्रादेशिक अस्पतालको रुपमा सञ्चालनमा आउने भएको छ ।

केही वर्ष अघिदेखि जिरी नगरपालिका मातहत सञ्चालनमा रहेको जिरी अस्पताल अब बागमती प्रदेश मातहत सञ्चालन हुने भएको हो । गत शुक्रबार मात्रै प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री सालिकराम जम्कट्टेलले जिरी अस्पताल प्रादेशिक अस्पतालको रुपमा स्तरउन्नति भएको घोषणा गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम घोषणा गर्ने क्रममा यो वर्ष जिरी अस्पताल, रामेछापको मन्थली नगरपालिकामा रहेको मन्थली अस्पतालसहित पाँच वटा अस्पतालाई प्रादेशिक अस्पतालको रुपमा स्तरउन्नति गर्न लागेको बताउनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाका अनुसार प्रादेशिक अस्पतालबाट विशेषज्ञ डाक्टरसहितको सेवा प्रवाह गर्ने गरी विकास गर्ने सरकारको तयारी छ । जिरी अस्पताल सहित प्रदेशका अन्य ५ वटा अस्पताललाई बजेट दिएर प्रादेशिक अस्पतालको रूपमा विकास गर्ने तयारी रहेको उहाँले बताउनुभयो । विपन्न नागरिकलाई स्वास्थ्यको सहज पहुँचका लागि सरकारले कार्यक्रम निर्धारण गरी बजेट तयार पारेको मन्त्री थपलियाको भनाई छ ।

जिरी अस्पताललाई विगत केही वर्षदेखि प्रदेशस्तरमा हस्तान्तरण गर्न जिरी नगरपालिकाले प्रयास गरिरहेको थियो । केही महिना अघि मात्रै जिरी नगर कार्यपालिकाको बैठकले निर्णय गरी जिरी अस्पताललाई प्रदेशस्तरीय अस्पताल बनाउन प्रदेशलाई आग्रह गरेको थियो । जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल कार्यपालिकाकोे निर्णय लिएर प्रदेशमा मुख्यमन्त्रीको ध्यानाकर्षण गर्न पुग्नुभएको थियो । भौतिक संरचनाको हिसावले निकै ठूलो ५१ शैंयाको अस्पताल बनाउनेगरी निर्माण गरिएपनि सो अस्पताल हाल नगर मातहत १५ शैयामा सिमित छ । पर्याप्त सेवा सुविधा र व्यवस्थापनसहित अस्पताल सञ्चालनको लागि स्थानीय स्रोत साधनले नपुग्ने भएपछि प्रदेशलाई हस्तान्तरण गर्ने नगरको योजनाले अब सार्थकता पाउने भएको छ ।

केही वर्ष अघिदेखि जिरी नगरपालिका मातहत सञ्चालनमा रहेको जिरी अस्पताल अब बागमती प्रदेश मातहत सञ्चालन हुने भएको हो ।मुख्यमन्त्रीको घोषणा अनुसार अब जिरी अस्पतालको व्यवस्थापन र सञ्चालन बागमती प्रदेश सरकारले गर्नेछ । स्थानीय सरकार मातहत सञ्चालनमा आउनुअघि जिल्ला अस्पतालको रुपमा रहेको जिरी अस्पताल अब प्रदेशस्तरीय प्रादेशिक अस्पताल बन्नेछ ।

मुख्यमन्त्रीको घोषणा अनुसार अब जिरी अस्पतालको व्यवस्थापन र सञ्चालन बागमती प्रदेश सरकारले गर्नेछ । स्थानीय सरकार मातहत सञ्चालनमा आउनुअघि जिल्ला अस्पतालको रुपमा रहेको जिरी अस्पताल अब प्रदेशस्तरीय प्रादेशिक अस्पताल बन्नेछ ।

यद्धपी, स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी डा.रविन भुसालले भने आधिकारिक निर्णय आउन बाँकी रहेको बताउनुभयो । जिरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रञ्जित झाले पनि अस्पताललाई हालसम्म आधिकारिक पत्र प्राप्त नभएको बताउनुभयो । पर्याप्त भौतिक संरचना, चिकित्सकीय जनशक्ति, उपकरण र ल्याब भएको जिरी अस्पतालमा पछिल्लो समय पर्याप्त विशेषज्ञ डाक्टर हुँदा पनि आर्थिक स्रोत अभावले पर्याप्त सेवा सञ्चालनमा समस्या थियो ।

जिरी अस्पतालमा दोलखा, रामेछाप, ओखलढुंगा र सोलुखुम्बु देखिका बिरामी सेवा लिन आउने गरेका छन् । यसअघि अघिल्लो वर्ष बागमती प्रदेश सरकारले जिल्ला सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पताल सहित १० वटा अस्पतालको स्तरउन्नति गरेको थियो ।