
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसद्बाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसद्बाट विश्वासको मत लिने रणनीति बनाएसँगै मुख्यमन्त्री जम्कट्टेलले पनि विश्वासको मत लिन तयारी गर्नुभएको होे । आज काठमाडौँमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विश्वासको मत फेस गरेर अघि बढ्न सुझाव दिएको थियो । संसदीय दलको बैठकमा सबैले विश्वासको मत फेस गर्न सुझाव दिएको र केन्द्रबाट पनि सोही अनुसार निर्देशन प्राप्त भएकाले मुख्यमन्त्री जम्कट्टेल तयार रहेको संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालले जानकारी दिनुभयो । विश्वासको मत लिने मिति भने एमालेका मन्त्रीहरूको राजीनामा पछि तय गरिने उहाँको भनाई छ । बैठकमा एमालेका मन्त्रीहरूको राजीनामा पछि संसद् बैठकका रणनीति र भूमिकाका बारेमा छलफल भएको उहाँले बताउनुभयो । बैठकपछि विश्वासको मत लिन तयार हुनुभएका मुख्यमन्त्री जम्कट्टेल एमालेका मन्त्रीहरूको राजीनामा बुझ्न काठमाडौँबाट हेटौंडा फर्किनुभएको छ ।
एमालेबाट संसदीय दलका नेता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिने तयारी गरेका छन् । उनीहरुले आजै पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।