images
images

शंकास्पद रकम सहित पक्राउ परेका दोलखाका दुई कर्मचारीलाई अख्तियारमा बुझाईने

दोलखा । शंकास्पद कारोवारको ८० हजार रुपैयाँ सहित पक्राउ परेका बागमती प्रदेश सरकारको चरिकोटस्थित भौतिक पूर्बाधार कार्यालयका दुई कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाईने भएको छ ।

शुक्रवार दोलखा प्रहरीले सदरमुकाम चरिकोटबाट पक्राउ गरेका दुबै कर्मचारीलाई भ्रष्टाचार सम्बन्धी अनुसन्धानका लागि अख्तियारमा बुझाउन लागिएको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले शंकास्पद आर्थिक कारोवारको सन्दर्भमा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने बताउनुभयो । उहाँले अबैध कारोवार र भ्रष्टाचारसम्बन्धी अनुसन्धानका लागि स्थानीय प्रशासनसँग छुट्टै जनशक्ति नभएकाले अख्तियारमा बुझाउन लागिएको जानकारी दिनुभयो ।

दोलखा प्रहरीले चरिकोटस्थित एक होटलबाट शंकास्पद आर्थिक कारोवारको ८० हजार नगद सहित भौतिक पूर्बाधार कार्यालयका फिल्ड सुपरभाईजरहरु दोलखाको जिरी नगरपालिका–५ का अन्दाजी ३६ वर्षीय सुम्बा शेर्पा र कालिञ्चोक गाउँपालिका–८ का अन्दाजी ३५ वर्षीय नहकुल शिवाकोटीलाई पक्राउ गरेको थियो । उनीहरुलाई प्रहरीले आजै जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

स्थानीय एक निर्माण व्यवसायीबाट विकास निर्माणको योजनाको बिल भुक्तानी मिलाइदिने भन्दै घुसवापत रकम लिएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।