सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा सुन र वृद्धभत्ताको लोभमा एक वृद्धाको हत्या गरिएको खुलेको छ ।
बाह्रबिसे नगरपालिका– ७ खनियावासकी ७१ वर्षीया रत्नकुमारी थापाको सुन र वृद्धभत्ताको लोभमा हत्या गरेको खुलासा भएको हो । हत्या आरोपमा प्रहरीले सोही स्थानका फुने भनिने ३६ वर्षीय सञ्जीव देउजालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । सो क्रममा यस्तो खुलासा भएको हो ।
यही साउन १८ गते वृद्धाको हत्या भएपछि घटनामा संलग्न भएको आशंकामा देउजालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) निरञ्जन भट्टराईले जनाकारी दिनुभयो ।
रत्नकुमारी जस्तापाताले छाएको कच्ची घरमा एक्लै बस्दै आएकी थिइन् । उनका छोरा वैदेशिक रोजगारीमा छन् भने बुहारी र नातिनातिना काठमाडौं बस्दै आएका थिए । वृद्धा रत्नकुमारीसँग पैसा र सुनको गहना भएको थाहा पाएका देउजाले दुई दिनदेखि वृद्धाको सुन र पैसा लुट्ने योजना बनाएकोे प्रहरीले जनाएको छ । रातभर अविरल वर्षामा भिजेर रत्नकुमारीको घरनजिकै ढुकेर बसेका देउजाले साउन १८ गते बिहान करिब ३ बजे हत्या गरेको बयान दिएका छन् । देउजा ओछ्यानबाट बाहिर निस्केको मौका छोपेर घाँटी थिचेर हत्या गरी दुवै हात बाँधेर घरभित्र भुइँमा लडाएर बाह्रबिसेतर्फ भागेका थिए ।
बिहान अबेरसम्म नउठेपछि छिमेकी वृद्धा रत्नकुमारीको घर गएका थिए । वृद्धाको बीभत्स हत्या भएको देखेपछि छिमेकीले इलाका प्रहरी कार्यालय बाह्रबिसेलाई खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । हत्यापछि वृद्धाबाट लुटेर लगेको ६२ हजार रकम, सुनको बुलाकी, कानमा लगाएको आधा तोलाको रिङ र घाँटीमा लगाएको तिलहरी अभियुक्तले विभिन्न व्यक्तिलाई दिएको बयान दिएका छन् ।
सिन्धुपाल्चोक जिल्ला अदालतबाट मुलुकी अपराधसंहिता, २०७४ को ज्यानसम्बन्धी कसुरको दफा १ सय ७७ र चोरी डाँकासम्बन्धी कसुरको दफा २ सय ४४ बमोजिम म्याद थप गरेर अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।