images
images

बेलायत अशान्त, यसरी भइरहेका छन् तोडफोड र आगजनीका घटना

  • २३ श्रावण २०८१, बुधबार ११:०२

बेलायतमा केही दिनदेखि भइरहेको हुलदंगा र प्रदर्शन अझै रोकिएको छैन । बेलायतमा गत सातादेखि चर्किएको आप्रवासी विरोधी दंगाले उग्ररुप लिँदै गएको हो । विगत एक सातादेखि ब्रिटिस सहरहरुमा आगो दन्किरहेको छ ।

आज पनि ३० भन्दा बढी स्थानमा ददर्शनको तयारी भइरहेको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । आज अल्डरसट सहरमा प्रर्दशन गर्ने तयारी छ । जहाँ नेपालीहरुको समेत उल्लेख्य बसोबास रहेको छ । त्यसैले नेपालीहरुमा त्रास बढेको स्थानीय ग्रेटर रसमोर नेपलिज कम्युनिटीका अध्यक्ष मन गुरुङले बताउनुभयो । सो क्षेत्रमा नेपालीको धेरै पसल व्यवसाय रहेकोले आज उनीहरुले पसल बन्द गर्ने सुचना प्राप्त भएको छ ।
केही दिनदेखिको हुलदंगाले बेलायत अशान्त छ । लण्डनस्थित नेपाली दूतावासले हुलदंगा भएका स्थानमा नजान र सुरक्षा निकायले जारी गरेका सूचना पालना गर्न नेपालीहरुलाई अनुरोध गरेको छ ।

ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ । विभिन्न ठाउँमा तोडफोड र आगजनीका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिने प्रयासमा ३०० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । तर तनाव रोकिएको छैन ।

यसलाई बेलायतमा सन २०११ पछिको सबैभन्दा ठूलो हिंसा भनिएको छ । त्यतिबेला एक मिश्रित नस्लवादी व्यक्ति प्रहरीबाट मारिएपछि हिंसा भड्किएको थियो । अहिले फेरि हिंसा बढ्न थालेपछि प्रधानमन्त्री कियर स्टार्मरले आपतकालीन बैठक आव्ह्वान गर्नुभएको छ ।

यसअघि स्थिति नियन्त्रणमा लिन सेना परिचालन गर्नेबारे छलफल भएको थियो । तर, पछि प्रहरी नै पर्याप्त भएको निष्कर्ष सरकारी अधिकारीहरुले निकालेका छन् । गत हप्ता साउथ पोर्टको एक नाइट क्लबमा तीन बालिकाको हत्या भएको थियो । हत्यामा एक्सेल रुदाकुबाना नाम भएका १७ वर्षीय किशोरको संलग्नता रहेको प्रहरीको भनाइ छ । उनले १० जनाको हत्या प्रयास गरेका थिए ।

तीमध्ये ८ जना बालबालिकाहरु थिए । तीन बालिकाको हत्यापछि विरोध प्रदर्शन सुरु भएको थियो । यस घटनापछि दक्षिणपन्थी गुटले मुस्लिम विरोधी र आप्रवासी विरोधी भावना भड्काएको आरोप छ ।
प्रदर्शनकारीले दुई वटा मस्जिदलाई पनि निशाना बनाए । त्यसपछि गृह मन्त्रालयले मस्जिदहरुमा सुरक्षा बढायो । जसले आप्रवासीहरु बस्ने गरेको होटल र प्रहरीलाई निशाना बनाए त्यसमा घोर दक्षिणपन्थी झुकाव राख्नेहरु रहेको आरोप छ । यसमा केही घुसपैठ पनि भएको हुनसक्ने अनुमान छ ।

बेलायतका दक्षिणपन्थी केही नेताहरुले आप्रवासीहरुको बढ्दो संख्याप्रति चिन्ता व्यक्त गर्ने गरेका छन् । एक महिना अघि मात्रै घोर दक्षिणपन्थी पार्र्टीका उम्मेदवारलाई हराउँदै प्रधानमन्त्री चुनिएका कियर स्टार्मरका लागि यो हिंसात्मक प्रदर्शन रोक्ने चुनौती छ । हिंसात्मक प्रदर्शनपछि सबै पार्टीका सांसदहरुले संसदको सत्र बोलाउन सरकारलाई दबाब दिन माग गरेका छन् ।

एजेन्सीको सहयोगमा