दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले कार्यसम्पदान मुल्यांकनमा ८४ अंक प्राप्त गरेको छ ।
गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा कामका आधारमा गरेको मुल्यांकनमा जिल्ला प्रशासन कार्यालय दोलखाले ८४.१८७५ अंक पाएको हो । गृहमन्त्रालयले सार्वजानिक गरेको विवरण अनुसार मुलुकभरका ७७ जिल्लाका प्रशासन कार्यालय मध्य ५७ वटाले ९० भन्दा माथि अंक पाएका छन् । दोलखा भने ८४ अंक प्राप्त गर्दै ७१ औँ स्थानमा परेको छ ।
कार्यसम्पादन मुल्यांकन सम्झौता बमोजिम मुल्यांकन गर्दा जिल्ला प्रशासन कार्यालयहरुले ७६.२५ देखि ९८ सम्म अंक पाएको मन्त्रालयले जनाएको छ । जसमध्य सबैभन्दा बढि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक पाएको छ भने जिल्ला प्रशासन कार्यालय सिरहाले सबैभन्दा कम ७६.२५ अंक पाएको हो ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्वु उत्कृष्ट १० को सूचीभित्र परेको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्वुले ९६.५६२५ अंक प्राप्त गरेको छ । सिन्धुली, ओखलढुंगा, रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले पनि ९० भन्दा माथि अंक प्राप्त गरेका छन् ।