जिरी(दोलखा) । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले मन्त्री बनेपछि दोलखा कांग्रेसमा उर्जा छाएको छ ।
कांग्रेस नेता स्वर्गीय भिम बहादुर तामाङ मन्त्री बनेको करिब ३० वर्षपछि पार्टीका युवा केन्द्रिय सदस्य काफ्ले बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि दोलखा कांग्रेसमा उत्साह छाएको हो । कम्युनिष्टको किल्ला मानिने दोलखा जिल्लामा नेपाली कांग्रेस र माओवादीको गठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका काफ्ले मन्त्री मात्रै बनेनन्, मुख्यमन्त्री पछि सबैभन्दा आकर्षक मानिने आर्थिक मामिला तथा योजना मन्त्रालयकै जिम्मेवारी पाए ।
प्रदेशको आर्थिक मामिला मन्त्री बने लगत्तै आइतबार गृहजिल्ला दोलखा आएका काफ्लेलाई नेपाली कांग्रेसका नेता–कार्यकर्ताले सदरमुकाम चरिकोटमा बाजागाजा र र्याली सहित स्वागत गरी बजार परिक्रमा गराए । नेपाली कांग्रेसले जिल्ला पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दियो । मन्त्री काफ्ले सोमबार विहान चरिकोट कारागार पुगेर त्यहाँ रहेका कैदी र थुनुवालाई भेटघाट पनि गरेका छन् । काफ्ले एकाएक कारागार पुगेर थुनुवा र कैदी भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
दोलखा प्रदेशसभा ‘क’ बाट निर्वाचित भएका कांग्रेस युवा नेता काफ्ले मन्त्री बनेपछि मतदाता र पार्टीका नेता तथा कार्यकर्तालाई भेट गर्न दोलखा आएका थिए । आइतबार दोलखा आएका काफ्लेको स्वागत र सम्मानमा जिल्लाका विभिन्न पालिकामा छुट्टा–छुट्टै कार्यक्रमको आयोजना गरिएको थियो । काफ्लेको गृहपालिका तामाकोशी गाउँपालिकाले उनको सम्मानमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । जिल्ला आएलगत्तै नेपाली कांग्रेस दोलखाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका मन्त्री काफ्ले सोमबार तामाकोशी र बैतेश्वर गाउँपालिका हुँदै जिरी पुगेका थिए ।
तामाकोशीमा गाउँपालिकाले नै बधाई तथा सुभकामना कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरेको थियो । गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसी र उपाध्यक्ष सृजना खड्का सुवेदी लगायतले स्वागत गरेका थिए ।
तामाकोशीमा भव्य स्वागतपछि नाम्दु हुँदै बैतेश्वर प्रवेश गरेका काफ्लेले मिर्गेसम्म पुगेर मतदाता र पार्टीका नेता–कार्यकर्तासँग नाचगान समेत गर्न भ्याए । बैतेश्वरको नाम्दु र मिर्गेमा पनि उनलाई कांग्रेस नेता–कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए । पालिकामा पनि उनलाई अध्यक्ष छवि लामा र उपाध्यक्ष कल्पना उप्रेती लगायतका जनप्रतिनिधिले स्वागत गरेका थिए ।
बैतेश्वर हुँदै जिरी आएका मन्त्री काफ्लेलाई जिरीमा नगरपालिका र कांग्रेस जिरी नगरसमितिले स्वागत तथा शुभकामना प्रदान गरेका छन् । जिरी नगरपालिका–१ पुम्पामा कांग्रेसले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सहभागी भएर उनी जिरी नगरपालिकाको कार्यालय पुगेर फर्किएका थिए । जिरी नगरपालिकामा नगरप्रमुख मित्र बहादुर जिरेल र उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का लगायतले स्वागत गरेका थिए ।
उनी जिल्लाको सबै पालिकामा पुग्ने लक्ष्यका साथ आएपनि आज कांग्रेसको केन्द्रिय समितिको बैठक रहेकोले काठमाडौ फर्किएका छन् । स्वागत र सम्मानमा आयोजित कार्यक्रमहरुलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले निर्वाचनको बेला आफुले गरेको बाचा र प्रतिवद्धता पूरा गर्न लागिपर्ने बताएका छन् ।