
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ स्थित जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ ।
यही असोज १२ गतेदेखि एकाईगत रुपमा सुरु भएको जनउपकारको साधारण सभा आज सम्पन्न भएको हो । जनउपकार साकोसको प्राङ्गण गौरीशंकर २ मा आज सम्पन्न साधारण सभाको प्रतिनिधिसभाका सांसद गंगा कार्की विश्वले उद्घाटन गर्नुभयो ।
साधारण सभामा संस्थाका कार्यवाहक अध्यक्ष बद्रीबहादुर बुढाथोकीले सञ्चालक समितिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सञ्चालक समितिको प्रतिवेदन पेश गर्दै कार्यवाहक अध्यक्ष बुढाथोकीले संस्थाको कुल सम्पत्ति ४९ करोड २ लाख ६५ हजार ८५८ रुपैयाँ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले ३४ करोड ५० लाख ९ हजार ५४१ रुपैयाँ ऋण लगानी गरेको छ भने संस्थाको शेयर पुँजी ३ करोड ७५ लाख ७७ हजार ४०० रुपैयाँ रहेको छ ।
४० करोढ ३४ लाख ८० हजार ५५४ रुपैयाँ बचत/निक्षेप रहेको जनउपकार साकोसको कुल सञ्चालन नाफा ४९ लाख २१ हजार ९६९ रुपैयाँ रहेको छ । यस्तै जगेडा कोष २ करोड २३ लाख २६ हजार ८१२ रुपैयाँ रहेको साकोसले जनाएको छ । ९ हजार ७३६ जना सदस्य रहेको जनउपकारमा ७ हजार ९२० जना शेयर सदस्य र २ हजार ७५० बाल सदस्य रहेका छन् ।
६ वटा शाखा कार्यालय रहेको साकोसको असोज १२ गते काठमाडौँको लोकन्थलीमा साधारण सभा सम्पन्न भएको थियो भने चरिकोट सेवा केन्द्र, गौरीशंकरको मार्बु, ईविथान, झ्याँकु, यार्सा सेवा केन्द्रमा यसअघि नै साधारण सभा सम्पन्न भैसकेको छ । संस्थाको दोलखा, सिन्धुपाल्चोक र काठमाडौँ कार्यक्षेत्र रहेको छ ।
जनउपकार साकोसले गत वर्ष संस्थाका ६८ जना सदस्यलाई उपचार खर्च, २३ जना सदस्यलाई काजकिरिया खर्च, ७१ जनालाई बृद्धभत्ता, ३७ जनालाई सुत्केरी खर्च र सदस्य सूरक्षण कोषबाट मृतक सदस्य २३ जनाले राहत रकम लिएको संस्थाका कोषाध्यक्ष बलराम खड्काले जानकारी दिनुभयो । संस्थाका कार्यवाहक अध्यक्ष बद्रीबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद कार्की संस्थाका पूर्ब अध्यक्षहरु ढाल बहादुर खड्का, रोसन कार्की र गौरीशंकर गाउँपालिका–१ का वडाअध्यक्ष प्रकाश बहादुर खड्का, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक दिल बहादुर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाको बन्द सत्रले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरु सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । यस्तै, अध्यक्ष, सहसचिव र लेखा संयोजकको भने सर्वसम्मत नेतृत्व चयन हुन नसकेकाले यही २३ गते पुन छलफलका लागि बोलाईएको साकोसले जनाएको छ । साधारण सभाको अवसरमा जेष्ठ नागरिक र असल बचतकर्तालाई सम्मान गरिएको छ ।