जिरी (दोलखा) । दोलखाका स्थानीय तहहरुले बागमती प्रदेश सरकारबाट दोस्रो किस्ताको अनुदान रकम पाएका छन् ।
बागमती प्रदेश सरकार अन्तर्गतको आर्थिक मामिला तथा योजना मन्त्रालयले दोलखाका लागि सशर्त, समपुरक, वित्तीय समानीकरण र विशेष अनुदानतर्फ गरी चार वटै शीर्षकमा दोस्रो किस्ता वापतको १५ करोड ९४ लाख ७१ हजार रकम निकाशा गरेको हो । जसमा दोलखाका ९ स्थानीय तहले सर्शत अनुदानतर्फ ५ करोड ६६ लाख २१ हजार रकम पाएका छन् भने वित्तीय समानीकरणतर्फ २ करोड ९४ लाख पाएका छन् । यस्तै, समपुरकतर्फ ५ करोड ५७ लाख र विशेष अनुदानतर्फ स्थानीय तहहरुले एक करोड ७७ लाख ५० हजार रकम पाएका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयले दोलखाका लागि विनियोजन गरेको रकममध्ये ५० प्रतिशत मात्रै स्थानीय तहले पाएका छन् भने अब ५० प्रतिशत पाउन बाँकी छ ।
अहिले दोस्रो किस्तामा विनियोजित बजेटको २५ प्रतिशत अर्थात एक चौथाई रकम निकाशा भएकोे प्रदेश सचिव महेश आचार्यले जानकारी दिनुभयो । दोस्रो किस्तामा सर्शत अनुदान अन्तर्गत सबैभन्दा बढी मेलुङ गाउँपालिकाले ८२ लाख ६ हजार रकम प्राप्त गरेको छ भने सबैभन्दा कम शैलुङ गाउँपालिकाले ५१ लाख २४ हजार रकम पाएको छ । यस्तै, भीमेश्वर नगरपालिकाले ६९ लाख १२ हजार, तामाकोशी गाउँपालिकाले ६६ लाख ११ हजार, कालिञ्चोक गाउँपालिकाले ६५ लाख ५१ हजार, बैतेश्वर गाउँपालिकाले ६४ लाख ९४ हजार, विगु गाउँपालिकाले ५६ लाख ५२ हजार र गौरीशंकर गाउँपालिकाले ५४ लाख ६४ हजार रकम पाएका छन् ।
यसैगरी, वित्तीय समानीकरण अनुदानतर्फ भने दोस्रो किस्तामा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाले ४६ लाख ६३ हजार र सबै भन्दा कम जिरी नगरपालिकाले २७ लाख ११ हजार प्राप्त गरेका छन् । मन्त्रालयले वित्तीय समानीकरण अनुदानतर्फ कालिञ्चोक गाउँपालिकालाई ३५ लाख ४ हजार, मेलुङलाई ३२ लाख ३८ हजार, बैतेश्वरलाई ३२ लाख ३३ हजार, तामाकोशीलाई ३१ लाख ७७ हजार, शैलुङलाई ३० लाख ६६ हजार र विगुलाई २९ लाख ७१ हजार र गौरीशंकर गाउँपालिकालाई २८ लाख ३७ हजार रुपैंयाको निकाशा दिएको छ ।
विशेष अनुदानतर्फ दोस्रो किस्तामा सबै भन्दा बढी कालिञ्चोक गाउँपालिकाले ५६ लाख २५ हजार रुपैंया रकम प्राप्त गरेको छ भने सबै भन्दा कम शैलुङ गाउँपालिकाले १५ लाख रुपैंया बजेट पाएको छ । यसैगरी, मेलुङ गाउँपालिकालाई ३७ लाख ५० हजार, विगु गाउँपालिकालाई ३६ लाख २५ हजार र बैतेश्वर गाउँपालिकालाई ३२ लाख ५० हजार रकम निकासा दिएको मन्त्रालयले जनाएको छ । यद्धपी, दोलखाको तीन स्थानीय तहलाई भने विशेष अनुदानतर्फको रकम विनियोजन भएको थिएन । जिल्लाको जिरी नगरपालिका, भिमेश्वर नगरपालिका र तामाकोशी गाउँपालिकालाई भने यो वर्ष विशेष अनुदान अन्र्तगतको रकम नै विनियोजन नभएको हो ।
यसैगरी, समपुरक अनुदानतर्फ सबै भन्दा बढी कालिञ्चोक गाउँपालिकाले ७५ लाख रकम पाएको छ भने सबै भन्दा कम जिरी नगरपालिकाले ३७ लाख १९ हजार रकम प्राप्त गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार भिमेश्वर नगरपालिकलाई ७४ लाख ६६ हजार, तामाकोशी गाउँपालिकालाई ७४ लाख ९४ हजार, बैतेश्वर गाउँपालिकालाई ७४ लाख ९१ हजार, विगु गाउँपालिकालाई ७० लाख ७१ हजार र गौरीशंकर, शैलुङ र मेलुङ गाउँपालिकालाई ५०/५० लाख रकम निकासा गरिएको छ ।
गत मंगलबार मात्रै मन्त्रालयले सम्बन्धित स्थानीय सञ्चित कोषमा दाखिला गर्न प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई पत्राचार गरेको थियो । यो सहित स्थानीय तहले प्रदेश सरकारबाट पाउने दुई किस्ता प्राप्त गरेका छन् भने अब २ किस्ता बाँकी छ ।
फोटो फाइल










