काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जानुहुने भएको छ ।
शुक्रबार गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल प्रभावित क्षेत्रमा जानुहुने भएको हो । राष्ट्रपति आफ्नो पूर्वनिर्धारित युरोप भ्रमण कार्यक्रम स्थगित गरेर आज भूकम्प प्रभावित क्षेत्रमा जाने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रपति आज बिहान सवा १० बजे भूकम्प प्रभावित क्षेत्रमा जानुहुने भएको छ । उहाँले प्राकृतिक विपत्ति आइपरेका बेला देश छाड्न उपयुक्त नहुने निष्कर्ष निकाल्नुभएको छ ।
मन्त्रीपरिषदको बैठकले राष्ट्रपतिको युरोपको भ्रमण स्वीकृत गरेको भोलीपल्ट नै जाजरकोट केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पबाट सो क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।










