images
images

बागमती प्रदेश सरकारले चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा लगानी गर्ने

  • २१ कार्तिक २०८०, मंगलवार १६:४०

हेटौंडा । बागमती प्रदेश सरकारले चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि लगानी गर्ने भएको छ ।

भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबीचको आज बसेको बैठकमा गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरपालिकाकी मेयर रेणु दहालबीच रंगशाला निर्माण गर्ने विषयमा सहमति जुटेको हो । प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा रंगशाला निर्माण गर्ने सहमति भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले जानकारी दिनुभयो ।

महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिट सहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको छ । भरतपुर महानगरपालिकाले तयार पारेको लागत प्रस्ताव अनुसार रंगशाला निर्माणका लागि ७५ करोड बजेट खर्च हुनेछ । योसँगै धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न नसकेपछि अलपत्र अवस्थामा रहेको चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण प्रक्रिया पुनः सुरु हुने भएको हो ।