काठमाडौँ । कोशी प्रदेशका मन्त्रीसँगै जापान जानेहरुले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको अनुसन्धानबाट खुलेको छ ।
नक्कली कागजात बनाएर कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसँगै जापान पुगेकाहरुले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको हो । खोटाङका ३६ वर्षीय दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटाले जापान जानका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको पाईएको हो ।
मन्त्रीसँगै जापान पुगेका उनीहरुलाई कात्तिक १४ गते टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट (निश्काषन) गरेपछि काठमाडौँ फर्किएका थिए । त्रिभुवन विमास्थलमा ओर्लिएलगत्तै उनीहरुलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा उनीहरुले जापानमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागि भएर उतै बस्ने सर्तमा प्रतिव्यक्ति १० लाख बुझाएको बताएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् ।
उनीहरुमध्य दुई जनाले दोलखाको जिरी नगरपालिका–९ घर भएका ३० वर्षीय वीरबहादुर सुनुवारलाई २० लाख र धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेलाई १० लाख रुपैयाँ बुझाएको प्रहरी समक्ष बयान दिएका छन् ।
जापानबाट डिपोर्ट भएका दावा शेर्पाको साथबाट खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका–२ को वडासदस्यको परिचयपत्र तथा देवकोटा र राईको साथबाट कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहायकको परिचयपत्र भेटिएको थियो । जापान पठाउने गिरोहले नै फर्जी कागजात बनाएर उनीहरु उड्नुअघि विमानस्थलमा लगेर दिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।
डिपोर्ट भएर आएका र पठाउने काममा संलग्न ६ जना प्रहरीको हिरासतमा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरु सबैलाई लिखित किर्तेसम्बन्धि कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।