दोलखा । दोलखाको जनसचेतन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्वाचन प्रक्रिया विवादित भएको छ ।
निर्वाचन उपसमितिले संचालक समिति र लेखा सुपरिवेक्षण समितिका सवै पदमा एकल उम्मेदवारी मात्र कायम रहेको भन्दै निर्विरोध निर्वाचित भएको घोषणा गरेपछि विवाद सुरु भएको हो । निर्वाचन उपसमितिले संचालक समिति र लेखा समितिमा निर्विरोध निर्वाचित भएकाहरुलाई पर्सि अर्थात सनिवार संस्थाको मुख्य कार्यालय मैनापोखरीमा सपथ ग्रहणका लागि उपस्थित हुन भनेको छ ।
तर, निर्वाचन उपसमितिले प्रदेश सहकारी ऐन विपरित आफुखुशी उम्मेदवारहरुको नाम हटाएर निर्विरोध निर्वाचित घोषणा गरेको भन्दै केही उम्मेदवारहरुले बिरोध जनाएका छन् । जनसचेतन साकोसको कोषाध्यक्ष पदका उम्मेदवार हरिवहादुर पाण्डेले उम्मेदवारको अन्तिम सुचि प्रकाशित भइसकेपछि कुनै उम्मेदवारको नाममा दावी विरोध समेत नरहेको अवस्थामा निर्वाचन उपसमितिले आफुखुशी नाम हटाएर सपथ ग्रहणको मिति तय गरेको आरोप लगाएका छन् ।
कोषाध्यक्षका उम्मेदवारले दिए प्रशासनमा उजुरी
पाण्डेले जनसचेतनको सपथ ग्रहण कार्यक्रम रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय दोलखामा हिजो (बुधवार) उजुरी समेत दिएका छन् । बागमती प्रदेशको सहकारी ऐन वमोजिम शिक्षक, कर्मचारी लगायत राष्ट्रसेवक सहकारीको संचालकमा निर्वाचित हुन र मनोनित हुन नपाउने भए पनि उम्मदेवारको अन्तिम नामावली प्रकाशित भइसकेको अवस्थामा दुई जना शिक्षकको उम्मेदवारी मात्रै खारेज गरेर निर्वाचन उपसमितिले विभेद गरेको उजुरीमा उल्लेख छ ।
उजुरीमा सहकारी ऐनमा भएको व्यवस्था सवैलाई समान ढँगले लागु गर्न र संस्थाको विधान बिपरित कुनै पनि उम्मेदवारलाई संचालकमा निर्वाचित नगर्न माग समेत गरिएको छ । जनसचेतन साकोसको अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, सहसचिव १५ सदस्यीय संचालक समिति र लेखा समितिको एक सदस्य निर्विरोध निर्वाचित भएपनि कोषाध्यक्ष, लेखा समितिको संयोजक र लेखा समितिको अर्को सदस्यमा सहमति जुटन् सकेको थिएन ।
यसरी खारेज गरियो शिक्षकको उम्मेदवारी
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भएको छलफलमा लेखा समिति संयोजकका उम्मेदवार कल्याण दहालले अर्का उम्मेदवार प्रशान्त चौंलागाईलाई समर्थन गरेका थिए । कोषाध्यक्षका उम्मेदवार हरि पाण्डे र लेखा समिति सदस्यका उम्मेदवार सन्तोष भुजेल शिक्षण पेशामा रहेका कारण निर्वाचन उपसमितिले उनीहरुको उम्मेदवारी खारेज गरेर कार्तिक २० गते सवै पदमा एकल उम्मेदवारी कायम रहेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
त्यसअघि निर्वाचन समितिले बैतेश्वर भुगोलवाट संचालक सदस्यमा उम्मेदवार बनेका सिताराम न्यौपाने र मिनप्रसाद दहालको उम्मेदवारी पनि शिक्षक भएकै कारण खारेज गरेको थियो । उम्मेदवारी खारेज गर्नु अघि निर्वाचन समितिले बागमती प्रदेश सरकारसँग शिक्षक सहकारीको संचालकमा बस्न नपाउने÷नपाउने वारे सुझाव माग गरेको थियो ।
चित्त नबुझे कानुनी उपचार खोज्न सुझाव
निर्वाचन उपसमितिका संयोजक सरोज उप्रेतीले भने निर्वाचन प्रक्रिया विधिसम्वत गरिएको र सवै पदमा एकल उम्मेदवारी कायम भएपछि निर्वाचित घोषणा गरिएको जानकारी दिनुभयो । एकल उम्मेदवारी परेको हकमा निर्वाचित घोषणा गरिएको र एक भन्दा बढी उम्मेदवारी परेका पदमा सहकारी नियमावली र प्रदेश सहकारी ऐन वमोजिम शिक्षकहरुको उम्मेदवारी खारेज गरिएको उहाँको भनाई छ ।
अधिवक्ता समेत रहेका संयोजक उप्रेतीले निर्वाचन उपसमितिको निर्णय चित्त नबुझेमा अदालत, सहकारी विभाग वा उपल्लो निकायमा जान सकिने स्पस्ट पार्नुभयो । उहाँले कार्तिक २४ गतेको सपथ ग्रहण नरोकिने समेत बताउनुभयो ।
कार्तिक २४ मा हुनेछ, अन्तिम सभा
जनसचेतन साकोसको प्रतिनिधिमुलक साधारण सभा कार्तिक २४ गते विहान ११ बजेका लागि बोलाइएको छ । सोही दिन दिउँसो १ बजे निर्वाचित पदाधिकारीको सपथ ग्रहण गर्ने कार्यतालिका छ । प्रदेश सहकारी कार्यविधि अनुसार इकाईगत साधारण सभा सम्पन्न भएको २१ दिनभित्र तोकिएको मितिमा प्रतिनिधिमुलक साधारण सभा र निर्वाचन प्रक्रिया टुँगोमा पुर्याउनु पर्ने बाध्यता रहेको संस्थाका कार्यवाहक अध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी दिनुभयो ।