images
images

एमाले दोलखाको पदाधिकारीमा कडा प्रतिश्पर्धा, २१ जना सदस्य निर्विरोध

  • २४ पुष २०७८, शनिबार १४:०७

दोलखा । नेकपा एमाले दोलखाको नयाँ नेतृत्व चयनकालागि पदाधिकारी सहित अधिकाँश सदस्य पदमा समेत निर्वाचन हुने भएको छ ।

एमालेको १० औं जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिए पनि सहमति नजुटेपछि अधिकाँश पदमा निर्वाचन हुने भएको हो । जस अनुसार अध्यक्ष पदमा नरवहादुर श्रेष्ठ र भरतप्रसाद दुलाल वीच प्रतिश्पर्धा हुने भएको छ । अध्यक्ष पदका चार जना आकाँक्षि मध्ये भरत केसी र डवल पाण्डे आफ्नो दावीवाट पछि हटे पनि श्रेष्ठ र दुलालले अडान नछाड्दा मतदान हुने भएको हो । अध्यक्ष पदका प्रत्यासी श्रेष्ठ एमाले दोलखाको निवर्तमान उपाध्यक्ष हुन् भने दुलाल निवर्तमान सचिव हुन् । अध्यक्षका दुवै प्रत्यासी स्थानीय सरकारका बहालवाला गाउँपालिका प्रमुख पनि हुन् । स्थानीय तहको निर्वाचनमा श्रेष्ठ मेलुङ गाउँपालिका र दुलाल शैलुङ गाउँपालिकावाट अध्यक्ष पदमा बिजयी भएका थिए ।

उपाध्यक्षमा ५ उम्मेदवार

एमालेको जिल्ला उपाध्यक्षमा जानुका न्यौपाने, राजेन्द्र मानन्धर, रामवहादुर श्रेष्ठ, कृष्णवहादुर बस्नेत र रोचकुमारी चौंलागाई वीच प्रतिश्पर्धा हुँदैछ । उपाध्यक्षका ५ उम्मेदवार मध्ये जानुका, राजेन्द्र र कृष्णवहादुर भीमेस्वर नगरपालिकाका हुन् । जानुका पहिलो पटक राजनीतिमा खुलेकी हुन् भने राजेन्द्र पत्रकारिता क्षेत्रवाट राजनीतिमा आएका हुन् । लामो समय गौरीसंकर क्याम्पस प्रमुख भएका बस्नेत अधिवक्ता पनि हुन् । रोचकुमारी एमाले विभाजनपछि नेकपा एकिकृत समाजवादीमा लागेपनि पुनः एमालेमै फर्किएकी नेतृ हुन् ।

सचिवमा कडा प्रतिश्पर्धा

जिल्ला सचिवमा भने हिरा थोकर र होमप्रसाद पाठक वीच प्रतिश्पर्धा हुनेछ । सचिवका दुवै प्रत्यासी यसअघि एमालेका जिल्ला सचिवालय सदस्य थिए । थोकर युवा सँघको केन्द्रीय उपाध्यक्षका उम्मेदवार समेत बनिसकको नेता हुन् भने पाठक मानवअधिकारको क्षेत्रवाट राजनीतिमा उदायका नेता हुन् । जनजाति समुदायमा थोकरको पकड रहेको छ भने सामाजिक संघ/संस्थाहरुमा पाठक बलियो छन् । २ जना उप–सचिव पदमा १३ जनाको उम्मेदवारी परेको छ । ती मध्ये धर्मेन्द्र मोक्तान, बिनकुमार थामी, सुन्दरकुमार लामिछाने, हरिवंश चौंलागाई, कमला बस्नेत, रेशम राजस्वराज रिमाल प्रमुख प्रतिश्पर्धिकोरुपमा देखिएका छन् ।

२१ सदस्य निर्विरोध

भुगोलतर्फको महिला सदस्यमा गौरीशंकरवाट याङ्टी शेर्पा र बिन्दु गुरुङ, जिरीवाट मनमाया जिरेल र कृष्णमाया बुढाथोकी खड्का, बिगुवाट देविका थामी र गोमा केसी र मेलुङवाट सन्जिता उप्रेती र सन्जना खड्का निर्विरोध भएका छन् । निर्वाचन कमिटीले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न मात्र बाँकी छ । भुगोलतर्फ प्रत्येक स्थानीय तहवाट ३/३ जना पुरुष जिल्ला कमिटी सदस्य चयन हुनु पर्नेमा गौरीशंकरवाट तिर्थवहादुर खड्का, जंगवहादुर गुरुङ र झलककुमार कार्की तथा जिरीवाट तेजवहादुर खड्का, टपिन्द्र खड्का र गोपाल जिरेल निर्विरोध भएका छन् । यस्तै, बिगुवाट टहलवहादुर थामी, प्रविण खड्का र अच्युतम केसी कटुवाल, मेलुङवाट छत्रराज उप्रेती, ध्रुव भण्डारी र सज्जन तामाङ निर्विरोध भएका छन् । मजदुरतर्फ १ जनाको कोटामा होमवहादुर तामाङको मात्रै उम्मेदवारी परेको छ ।

भुगोल, समावेशी र खुल्ला सदस्यमा पनि निर्वाचन हुने

एमाले दोलखाको जिल्ला कमिटी सदस्य मध्ये अधिकाँशमा निर्वाचन हुने भएको छ । ९ जना खुल्ला महिला सदस्यतर्फ १४ जना र १४ जना खुल्ला सदस्यतर्फ २३ जनाको उम्मेदवारी दर्ता भएको छ । भुगोलतर्फ प्रत्येक स्थानीयत तहवाट २/२ जना महिला सदस्य चयन हुनु पर्नेमा कालिन्चोक गाउँपालिकावाट ३, तामाकोशीवाट ६, वैतेस्वरवाट ५ र शैलुङवाट ४ जनाको उम्मेदवारी दर्ता भएको छ भने भीमेस्वर नगरपालिकावाट ३ जना महिला सदस्य चयन हुनेमा ५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

भुगोलतर्फ खुल्ला पुरुष सदस्यमा शैलुङवाट १२, भीमेस्वरमा ७, वैतेस्वरवाट ६, तामाकोशीवाट ५ र कालिन्चोकवाट ७ जनाको उम्मेदवारी परेको छ । भीमेस्वरमा ४ जना र अन्य पालिकामा ३ जना मात्रै कोटा रहेका कारण तोकिएको भन्दा बढी उम्मेदवारी परेको स्थानमा निर्वाचन हुनेछ । यसैगरी समावेशी दलित महिला २ जना आवस्यक पर्नेमा ५ जना, समावेशी जनजातितर्फको ६ जनाको कोटामा १७ जनाको उम्मेदवारी परेको छ ।

एमाले दोलखाको १० औं जिल्ला अधिवेशनले चयन गरेको निर्वाचन कमिटीले आज साँझ उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ । भोली विहानवाट मनदान प्रक्रिया सुरु हुने निर्वाचन कमिटीले जनाएको छ । दोलखा एमालेको अधिवेशनमा ८०७ जना प्रतिनिधि रहेका छन् ।