images
images

कालिञ्चोक दर्शनले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै, ४९९० कित्तासम्म आवेदन दिन सकिने

जिरी (दोलखा) । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि ८ लाख ९६ हजार ४०० कित्ताका लागि आवेदन माग गर्न लागेको हो । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन छिटोमा माघ ६ गते बन्द हुनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १७ गतेसम्म थप गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । सो मध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ ।

हाल आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो शेयर खाता मार्फत आवेदन दिन सकिनेछ । कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा केबलकार सञ्चालन गरिरहेको छ ।