images
images

लामो रसाकस्सीपछि कांग्रेसले टुङग्यायो राष्ट्रियसभाका १० उम्मेदवार, कुन प्रदेशबाट को ?

  • २३ पुष २०८०, सोमबार ०७:००

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका उम्मेदवार टुङग्याएको छ ।

लामो रस्साकस्सीपछि कांग्रेसले आज बिहान १० उम्मेदवार चयन गरेको हो । कांग्रेस प्रवक्ता प्रकाशशशरण महतका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ जितजंग बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाएको छ ।

यस्तै, गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यबलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको महतले बताउनुभयो ।

१० जना मध्ये शेखर कोइराला र गगन थापा पक्षले तीन जना पाएको छ । गण्डकीबाट श्रेष्ठ र परियार तथा लुम्बिनीबाट सापकोटा शेखर र गगन समूहको कोटामा उम्मेदवार बनेका हुन् । यद्धपी, उम्मेदवारी चयनको निर्णय न्यायसंगत र समावेशी हुन नसकेको भन्दै महामन्त्री गगन थापाले लिखित असहमति जनाउनुभएको छ ।मधेश प्रदेशबाट ढुंगानालाई उम्मेदवार बनाउने निर्णयमा नेता अर्जुन नरसिंह केसी र बल बहादुर केसीको पनि लिखित असहमति छ । मधेस प्रदेशबाट मधेशी मूलका व्यक्तिलाई उम्मेदवार नबनाइएको उनीहरुको आपत्ति थियो ।