images
images

भीमेश्वर मन्दिर परिसरमा व्यवसाय गर्न प्रतिवन्ध, तस्वीर बिक्री गर्न स्विकृत लिनुपर्ने

  • २३ पुष २०८०, सोमबार ०७:५२

दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर परिसर भित्र कुनै पनि व्यापारिक प्रयोजनका व्यवसायहरु गर्न नपाईने भएको छ ।

भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले सूचना जारी गर्दै फागुन ८ गतेदेखि लागुहुने गरी मन्दिर परिसर भित्र कुनै पनि व्यापारिक प्रयोजनका व्यवसायहरु गर्न नपाईने जनाएको हो । समितिका अनुसार मन्दिर परिसर कालिमन्दिर, भीमसेन डोवर, भीमेश्वर मन्दिर प्रवेश गर्ने सिडी रहेको बाटो र बगैचाको क्षेत्र, देउपाखा तथा घरेलु कार्यालयको सिमाना आसपास व्यवसाय गर्न रोक लगाईने छ ।

मन्दिर परिसरमा जथाभावी भीडभाड, प्रदुषण बढेपछि व्यवसाय गर्न रोक लगाईएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसायीहरुले मन्दिर परिसर बाहिर व्यवसाय गर्न पाउने छन् । त्यसको व्यवस्थापन आफै गर्नु पर्नेछ । हाल भीमेश्वर मन्दिर परिसरमा डेढ दर्जन बढी व्यवसायीहरुले पुजा सामाग्रि लगायतको व्यवसाय गर्दै आएका छन् । स्थानीयवासीले मन्दिर आसपासको क्षेत्रमा बर्षौदेखि पुजा सामाग्रि विक्रि गर्दै आएका हुन् । उनीहरुले वैकल्पिक व्यवस्था नगरी हटाउन खोजिएको भन्दै गुनासो गरेका छन् ।

भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले भीमेश्वरको प्रतिमाहरु बनाई बिक्री वितरण गर्न र कुनै पत्रपत्रिका वा मुख पत्रहरुमा छपाई गर्न निषेध गरेको छ । बिक्री वितरणमा राखिएका भीमेश्वरको फोटोहरु पनि समितिको अनुमति लिई वा समितिले स्वीकृत गरेको फोटो मात्र बिक्री वितरण गराउन समितिले भनेको छ । समितिले बली पुजा र रुद्रि पुजामा बाहेकको समयमा फलामको स–साना घण्टी, रातो वा सेतो तुल, चुनरी, सौभाग्य आदी चढाउन प्रतिबन्ध गर्ने भएको छ । त्रिशुल, घण्टीहरु चढाउन ईच्छुक भक्तजनहरुले समितिले तोकेको साईजको मात्रै त्रिशुल र घण्टी चढाउन पाउने छन् ।

समितिले भीमेश्वर मन्दिर क्षेत्र भित्र प्लास्टिकजन्य सामान लैजान पनि रोक लगाएको छ । भीमेश्वर मन्दिरमा अब सिन्के धुप प्रयोग गर्न पनि पाईने छैन । सिन्का धुपको विकल्पमा गोकुल धुप, सालधुप वा बाटेको धुप मात्रै चढाउन समितिले भनेको छ । बिहान रुद्री पूजाको समयमा, राजपूजाको समयमा काँचो नरिवल पूजा सामाग्रीमा समावेश गरी नपठाउन र मन्दिर मुल गेटबाट भित्र लान निषेध गरिएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिले जनाएको छ ।