हेटौँडा । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि एमालेका चार नेताले उम्मेदवारी दर्ता गरेका छन् । एमाले दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।
चौलागाईंले महिला कोटाबाट मनोनयन दर्ता गरेकी छन् भने देवकोटाले अपाङ्ग, विश्वकर्माले दलित र पौडेलले अन्य क्लस्टरमा उम्मेदवारी दिएका छन् । एमाले नेतृ रोचकुमारी चौंलागाईंले बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनय दर्ता गराएकी हुन् । मकवानपुर एमालेका संगठन विभाग प्रमुख हिदम लामाको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
पार्टीको निर्णय अनुसार चारै जना नेताहरु उम्मेदवारी दर्ताकालागि हेटौंडा पुगेका थिए । तर, उनीहरुका उत्साह भने थिएन । उम्मेदवारका अनुहार समेत मलिन देखिन्थे । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारको जित करिव सुनिश्चित भएका कारण पनि उनीहरुमा उत्साह नदेखिएको हो ।










