
दोलखा । दोलखाका ६ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाईँदै छ ।
जिल्लाका कक्षा ६ देखि १० सम्म अध्ययनरत ६ हजार ५ सय ३६ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाईरस) विरुद्धको खोप लगाउन लागिएकोे हो । जनस्वास्थ्य कार्यालय दोलखाका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययरत १० देखि १४ वर्ष उमेर समुहका ६ हजार ४४५ छात्रा र विद्यालय बाहिरका ९१ छात्रालाई एचपिभी खोप दिईनेछ ।
कार्यालयका सूचना अधिकारी पवन भाटले जिल्लाका सामुदायिक र निजी गरी ६ देखि १० कक्षासम्मका २२९ विद्यालय र ७० वटा स्वास्थ्य संस्थाबाट खोप अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्मदर्ताको आधारमा उमेर हेरेर खोप लगाईने छ ।
दोलखामा माघ २२ गतेदेखि २९ गतेसम्म खोप सञ्चालन गर्ने तयारी गरिएको छ । स्थानीय स्तरमा विद्यालयमा नै खोप केन्द्र सञ्चालन गरिनेछ भने अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट खोप दिईनेछ । खोप सञ्चालनका लागि २२९ वटा केन्द्र तोकिएको छ । कक्षा ६ का १ हजार ३४४ जना र कक्षा ७ देखि १० सम्मका ५ हजार १ सय १ जना छात्रालाई खोप लगाउने तयारी गरिएको छ ।
खोप कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको जनस्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार एचपिभी भाईरसविरुद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाको सम्पूर्ण स्थानीय तहबाट तथ्यांक संकलन कार्य सकिएको छ ।
नेपाल सरकारले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट प्रमाणित सो खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको संक्रमणबाट सुरक्षित हुन सञ्चालन गर्न लागेको अभियान अन्तर्गत दोलखामा पनि खोप लगाउन लागिएको हो ।