
दोलखा । दोलखाको जिरी नगरपालिकाकी अविवाहित एक किशोरीले प्रेम सम्वन्धपछि छोरी जन्माएकी छिन् ।
दलित समुदायकी १७ वर्षीया किशोरीले प्रेमीसँगको सम्वन्धपछि कलिलै उमेरमा छोरी जन्माएकी हुन् । आफु भन्दा माथिल्लो जातका युवकसँग प्रेम सम्वन्धमा रहेकी किशोरीले काठमाडौंको एक अस्पतालमा ३ दिन अघि छोरी जन्माएकी हुन् । कलिलै उमेरमा सुत्केरी भएकी ती किशोरी र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था कमजोर भएका कारण अहिले अस्पतालमा राखेर उपचार भइरहेको छ ।
गाउँकै माथिल्लो जातका युवकसँग प्रेम सम्वन्धमा रहेकी दलित समुदायकी किशोरीलाई विवहा गर्ने प्रलोभनमा काठमाडौं लगिएको र उनलाई उतै छाडेर युवक गाउँ फर्किएको पीडित परिवारका सदस्यले बताएका छन् । गत मंसिर पहिलो साता विवाह गर्ने भनेर किशोरीलाई काठमाडौं लगेका युवकले उनलाई उतै छाडेर अर्कै युवतीलाई गाउँ लिएर आएका थिए ।
दलित समुदायकी किशोरीसँग प्रेम सम्वन्धमा रहेका युवकले अर्कै युवतीलाई घर भित्रयाएर गत मंसिर महिनामै टिकाटालो समेत गरिसकेका छन् । रोजगारीका लागि मलेसिया गएका ति युवक गाउँ फर्किएपछि स्थानीय किशोरीसँग प्रेम सम्वन्धमा थिए । पीडित किशोरी कक्षा ११ मा अध्ययनरत छिन् ।
दोलखा प्रहरीले पनि घटनाको पुष्टि गरेको छ । प्रहरीका अनुसार नावालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा युवकलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । नेपालको विद्यमान कानूनले विवहाका लागि योग्य उमेर २० बर्ष तोकेको छ ।
मुलुकी अपराधसंहिता ऐन, २०७४ मा १८ वर्ष भन्दा कम उमेरका बालिकालाई मञ्जुरी लिएर करणी गरे पनि ‘जवरजस्ती करणी’ गरेको मानिने भनेको छ । १६ वर्ष वा सो भन्दा बढी १८ वर्ष भन्दा कम उमेरकी महिलालाई जवरजस्ती करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सँजाय हुने कानूनी व्यवस्था छ ।