
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशन सम्पन्न भएको छ ।
गाउँसभाको १६ औं अधिवेशनले चालु आर्थिक वर्ष सञ्चालन हुने केही कार्यक्रम तथा बजेटको संशोधन गरेको छ । सभामा सभाअध्यक्ष एवम् पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्मको उपलब्धी तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे जानकारी दिनुभएको थियो भने उपाध्यक्ष उषादेवी कार्कीले चालु आर्थिक वर्षको पौष महिनासम्मको आय/व्यय विवरण र कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
गाउँसभाले चालु आर्थिक वर्ष सञ्चालन हुने केही योजना तथा कार्यक्रम संशोधन गरेको छ । गाउँसभामा पेश भएको संशोधित बजेट तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । चालु आर्थिक वर्षको कार्यक्रम बजेटमा संशोधन प्रस्ताव तयार गर्दा कुल बजेटमा भने कुनै थपघट नगरिएको उपाध्यक्ष कार्कीको भनाई छ ।
गोकुलगंगा गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कुल विनियोजित बजेटको २४ दशमलव ८६ प्रतिशत अर्थात १३ करोड ५६ लाख ६२ हजार १ सय ३१ रुपैंया मात्रै खर्च गरेको छ । जसमा चालु खर्चतर्फ ३५ दशमलव ७२ प्रतिशत र पूँजीगततर्फ ७ दशमलव २५ प्रतिशत खर्च भएको विवरण सार्वजनिक गरिएको छ । कार्यक्रम धमाधम कार्यन्वयनको चरणमा रहेकोले भुक्तानी हुन बाँकी भएपछि विकास खर्च कम देखिएको छ ।
चालु आर्थिक वर्षको लागि पालिकाले ५४ करोड ५६ लाख १५ हजार ४ सय ५१ रुपैंया विनियोजन गरेको थियो ।
यस्तै, राजस्व आम्दानीतर्फ चालु आर्थिक वर्ष २०८१/८२ मा अघिल्लो आर्थिक वर्षको मौज्दात सहित ३ करोड ९७ लाख ८१ हजार ३ सय ५० रुपैंया आम्दानी गर्ने लक्ष्य लिएकोमा हालसम्म २ करोड २५ लाख ९० हजार ४ सय ८६ रुपैंया लिन सफल भएको पालिकाले जनाएको छ ।
यसैगरी, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान, सर्शत अनुदान र समपूरक अनुदानको लक्ष्य ३१ करोड ४८ लाख १७ हजार रहेकोमा हालसम्म १५ करोड ५ लाख ८३ हजार ५ सय रुपैंया प्राप्त भएको छ । प्रदेश सरकारबाट प्रात हुने अनुदानको लागि ५ करोड २३ लाख २२ हजार अनुमान गरिएकोमा १ करोड ३६ लाख ६१ हजार रुपैंया प्राप्त भएको गोकुलगंगा गाउँपालिकाले जनाएको छ ।
संघ, प्रदेश र स्थानीय राजस्व बाँडफाँडमा १३ करोड ८५ लाख ९५ हजार १ सय १ रुपैंयामा करिब ६ महिनाको अवधिमा ४ करोड १२ लाख ४ हजार ७ सय रुपैंया प्राप्त भएको छ । समग्रमा गोकुलगंगा गाउँपालिकाले लक्ष्यको ४२ दशमलव ७९ प्रतिशत आम्दानी गरेको छ ।
सभामा वडाध्यक्षहरु, वडा सदस्य तथा कार्यपालिका सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव लगायत पालिकाका कर्मचारीहरु र स्थानीय नागरिकहरु लगायतको सहभागीता थियो ।
सभाको सुरुवातमा वडा नम्बर ४ बेतालीका तत्कालीन वडा अध्यक्ष एवम् सभाका सदस्य रामचन्द्र बस्नेतसहित सवारी दुर्घटना परि मृत्यु भएका पालिकाका विभिन्न क्षेत्रका ५ जना तथा पहिरोमा परि मृत्यु भएका ३ जना गरी ८ जनाको निधनमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
हेर्नुहोस, पालिका अध्यक्षद्धारा प्रस्तुत ६ महिनाको उपलब्धी
यहाँ क्लिक गर्नुहोस, अध्यक्ष्बाट प्रस्तुत समिक्षात्मक् प्रतिबेदन
उपाध्यक्षद्धारा प्रस्तुत संशोधन प्रस्ताव