images
images

जिरी नगरपालिकाको निर्णयः शव व्यवस्थापनलाई १० हजार, पोस्टमार्टम गर्नलाई निशुल्क शववाहन

  • २५ माघ २०७९, बुधबार २०:४७

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले नगरबासीलाई लक्षित गरी तीन वटा महत्वपूर्ण निर्णय गरेको छ ।

जिरी नगरकार्यपालिकाको बैठकले स्थानीयलाई लक्षित गर्दै तीन महत्वपूर्ण निर्णय गरेको हो । जिरी नगरपालिकाले अब जिरी नगरपालिका क्षेत्र भित्र मृत्यु भई बेवारिसे अवस्थामा फेला परेका शवलार्ई व्यवस्थापनका लागि १० हजार रुपैंया उपलब्ध गराउने भएको छ । कुनै पनि मानिसको मृत्यु भई शवको व्यवस्थापन गर्ने जिम्मेवार व्यक्ति तथा आफन्त नभएमा सो बेवारिसे शवलाई व्यवस्थापन गर्न नगरपालिकाको तर्फबाट प्रतिशव व्यवस्थापनका लागि १० हजार उपलब्ध गराउने नगरप्रमुख मित्रबहादुर जिरेलले जानकारी दिनुभयो ।

यस्तै, कार्यपालिकाबाट विभिन्न दुर्घटनामा परि मृत्यु भएका व्यक्तिहरुको पोष्टमार्टम गर्न अस्पतालसम्म लैजान र शवलाई अस्पतालबाट घर वा घाटसम्म पु¥याउन निशुल्क शवबाहन उपलब्ध गराउने निर्णय पनि भएको कार्यपालिका सदस्य साङगे शेर्पाले बताउनुभयो । निजी सवारी साधनमा पोष्टमार्टमका लागि शव अस्पताल लैजान तथा ल्याउन महंगो भाडा तिर्नुपर्ने लगायतका समस्या रहेकाले नगरपालिकाले निशुल्क गर्ने व्यवस्था गरेको नगरप्रमुख जिरेलले बताउनुभयो ।

नगरपालिकाले प्रशव सुत्केरी व्यथाका कारण अस्पताल/स्वास्थ्यचौकी जानुपर्ने विपन्न दलित महिलाका लागि पनि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको छ । यही माघ ९ गते बसेको नगरकार्यपालिका बैठकले स्थानीय नागरिकलाई लक्षित गरी यस्तो महत्वपूर्ण तीन निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी तेज कुमार धमलाले जानकारी दिनुभयो । जिरी नगरपालिकाभित्र ३ वटा एम्बुलेन्स र एउटा शवबाहन सञ्चालनमा रहेको छ ।