images
images

आज भीमा एकादशी, भीमेश्वर मन्दिरमा विशेष धार्मिक कार्यक्रम हुँदै

दोलखा । आज माघ शुक्ल एकादशी अर्थात भीमा एकादशी पर्व भगवान विष्णुको पुजा आराधना गरि मनाइँदैछ ।

माघ शुक्ल पक्षको एकादशीलाई जया अथवा भीमा एकादशी भनिन्छ । दशमीको दिन देखि नै शुद्ध र पवित्र भई एकादशीको दिन भगवान विष्णुको पुजा आरधना गरि व्रत बस्ने चलन रहेको छ । भीमा एकादशीको व्रत बस्नाले कार्यक्षमतामा वृद्धि, मानसिक सामथ्र्य र शक्ति वृद्धि तथा आयु वृद्धि हुने धार्मिक विश्वास रहेको छ ।

भीमा एकादशीको अवसरमा आज दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा विशेष धार्मिक कार्यक्रम हुँदैछ । भीमा एकादशीको अवसर पारेर दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले आज बिहान ९ बजेबाट भीमेश्वर मन्दिरमा लघु रुद्री पुजा–पाठ, होम र यज्ञ सहितको धार्मिक कार्य गर्न लागेको हो । आज साँझ आरती पूजा सहित दिप प्रज्वलन तथा रातभर जाग्राम हुने भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो ।

भीमशेनको आरधनाबाट सन्तुष्ट भै आराध्य देव भगवान श्री महादेवबाट ऋणमा परेका व्यापारीलाई ऋण मुक्त गराउन सक्ने बरदान प्राप्त गरेको दिनको सुअवसरमा भीमा एकादशी मनाईँदै आएको समितिका सचिब राजेन्द्रनारायण श्रेष्ठले जानकारी दिनुभयो । भीमेश्वर मन्दिरमा यो पर्व सदिऔँदेखि मनाईँदै आईएको छ । भीमा एकादशीमा निराहार ब्रत बस्नाले ऋणबाट मुक्त हुने जनविश्वास रहीआएको छ ।