images
images

माओवादी केन्द्र वैतेस्वरको भेलाः स्थानीय निर्वाचनमा बिजयी हाँसिल गर्ने नेताहरुको उद्धघोष

  • २४ फाल्गुन २०७८, मंगलवार २१:३२

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले सम्पूर्ण शक्ति केन्द्रित गरेर स्थानीय तहको निर्वाचनमा लागि पर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

माओवादी केन्द्र वैतेस्वर–काठमाडौं सम्पर्क मञ्चले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् । माओवादी केन्द्रका नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा दोलखामा माओवादीले बिजयी हात पार्ने दावी पनि गरेका छन् । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य गंगा कार्कीले विगतमा प्राविधिक कारणले दोलखामा माओवादीले जितिसकेको स्थानीय तहको निर्वाचनमा पराजय भोग्नु परेको स्मरण गर्दै अव त्यसको क्षेतिपूर्ति हुनेगरी तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवँ जिल्ला इन्चार्ज देवी खड्काले बैशाख ३० गतेकालागि घोषणा भएको स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने उल्लेख गर्दै कुनै भ्रममा नपरी निर्वाचनको तयारीमा लागि पर्न आग्रह गर्नुभयो । दोलखामा माओवादीको पक्षमा माहौल बढिरहेको भन्दै नेतृ खड्काले स्थानीय सरकारमा बिजयी हात पार्नुको विकल्प नरहेको धारणा राख्नुभयो । यस्तै, कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीले विगतमा माओवादीले ढँग नपुगेका कारण निर्वाचनमा सोचे जस्तो परिणाम हात पार्न नसकेको भन्दै अवको दुई महिना शान्तिपूर्ण युद्धको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

सम्पर्क मञ्चको भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका युवा नेता एवँ बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काले वैतेस्वरसहित दोलखाका अधिकाँश स्थानीय तहमा माओवादी बिजयी हुने आधार तय भईसकेको उल्लेख गर्दै माओवादीको तर्फवाट भए गरेका विकास निर्माणका योजना र कार्यक्रमका बारेमा जनतालाई जानकारी दिन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय प्रचार विभाग सदस्य लक्ष्मण खड्काले वैतेस्वरमा माओवादीले विकास र समृद्धिको अभियान लिएर जाने भन्दै एमाले र नेकपा एकिकृत समाजवादीमा आस्था राख्ने नेता, कार्यकर्ता र मतदातालाई समेत सहयोग गर्न अपिल गर्नुभयो । नेकपा माओवादी केन्द्र वैतेस्वर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष जय दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र वैतेस्वरका अध्यक्ष भिमवहादुर श्रेष्ठ, पूर्व जिल्ला सचिवालय सदस्य सुव्वा श्रेष्ठ, दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष मिनवहादुर घिमिरे लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

भेलाले वैतस्वर गाउँपालिकाका ७ वटा वडाको वडा काठमाडौं सम्पर्क मञ्च गठन पनि गरेको छ । जसअनुसार वैतेस्वर २ को अध्यक्षमा रामचन्द्र काफ्ले, वडा नम्बर ३ मा सुजन बस्नेत, वडा नम्बर ४ मा नवराज बस्नेत, वडा नम्बर ५ मा दिनेश बस्नेत, वडा नम्बर ६ मा राम भुजेल, वडा नम्बर ७ मा बलराम रिमाल र वडा नम्बर ८ मा भरतकुमार खत्री अध्यक्ष चयन भएका छन् । यस्तै, माओवादी केन्द्रको वैतेस्वर–काठमाडौं सम्पर्क मञ्च महिला कमिटीको इन्चार्जमा नविना खड्का, सह इन्चार्जमा रमिला बस्नेत र अध्यक्षमा बिना दाहाल चयन भएका छन् ।