images
images

वैतेस्वरका कांग्रेस नेता लामिछानेसहित दर्जन बढी नेकपा माओवादी केन्द्रमा प्रवेश

  • २४ फाल्गुन २०७८, मंगलवार २१:५२

काठमाडौं । नेपाली कांग्रेस दोलखाका पूर्व क्षेत्रीय सदस्य सहित दर्जन बढी नेता तथा कार्यकर्ता कांग्रेस परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दोलखाको प्रदेश ‘क’ अन्तर्गत क्षेत्रिय समितिमा रहेका वैतेस्वर गाउँपालिका वडा नम्बर ४ काब्रेका टंक लामिछानेसहित गैरीमुदी र नाम्दुका नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी प्रवेश गर्ने लामिछाने कांग्रेसले वैतेस्वर वडा नम्बर ४ वाट वडा अध्यक्षको उम्मेदवार बनाउने तयारी गरिरहेका नेता हुन् । कांग्रेस परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नेमा पूर्व क्षेत्रीय सदस्य लामिछाने, हिक्मत लामिछाने, वैतेस्वर २ गैरीमुदीका रामचन्द्र काफ्ले, रामवहादुर मगर, रमिला दाहाल र मनोज नेपाली तथा वैतेस्वर ६ नाम्दुका प्रितम तामाङ, डम्वरवहादुर नेपाली, लक्ष्मी नेपाली लगायत रहेका छन् । उनीहरु माओवादी केन्द्रको वैतेस्वर–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रममा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका नेताहरु गंगा कार्की, देवी खड्का, सरल सहयात्री, संकर लामा तथा माओवादी केन्द्रका युवा नेता एवँ प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काले पार्टी प्रवेश गराएका छन् । माओवादी केन्द्र प्रवेश गरेका टंक लामिछानेले कांग्रेसवाट विकास र समृद्धि असम्भव देखेका कारण आफुले माओवादी केन्द्र रोजेको बताउनुभयो । दोलखाको वैतेस्वर गाउँपालिकामा पछिल्लो समय माओवादी प्रवेश गर्नेहरुको संख्या बढीरहेको छ । केही दिनअघि मात्रै वैतेस्वर २ गैरीमुदीमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।