images
images

बागमती प्रदेशमा ९८३ मेगावाट विधुत उत्पादन, ३५ सय मेगावाटको अध्ययन हुदै

  • २४ फाल्गुन २०७९, बुधबार ०९:३४

काठमाडौं । बागमती प्रदेशमा उत्पादन क्षमता भन्दा धेरै कम विद्युत उत्पादन भइरहेको छ ।

बागमतीमा विद्युत उत्पादन क्षमता साढे ११ हजार मेगावाट भएपनि उत्पादन भने ९८३ मेगावाट मात्रै हुनजे गरेको पाइएको हो । प्रदेशभित्र करिब साना ठुला गरी साढे ११ हजार मेगावाट उत्पादन क्षमता आयोजनाको अध्ययन भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले गरेको एक अध्ययनमा साढे ११ हजार ४०७ मेगावाट उत्पादन क्षमता भएपनि ९८३ मेगावाट मात्रै उत्पादन भइरहेको उल्लेख छ । बागमतीमा अहिले साना–ठुला गरी ४३ वटा जलविद्युत आयोजना सञ्चालनमा छन् । विद्युत विकास विभागका अनुसार बागमतीमा उत्पादन लाइसेन्स ६५ वटा आयोजनाले पाएका छन् ।

सर्वे लाइसेन्सका लागि दुई आयोजनाले आवेदन दिएका छन् । जसबाट १४ दशमलव ९ मेगावाट उत्पादन हुनेछ । विभिन्न चरणमा निर्माणाधीन १४१ आयोजनाको उत्पादन क्षमता २७५० मेगावाट छ ।

सरकारबाट ६ आयोजनाको अध्ययन हुँदै

बागमती प्रदेशमा सरकारले ६ वटा आयोजनाको अध्ययन गरिरहेको छ । जसको उत्पादन क्षमता ३५६४ मेगावाट छ । सरकारको बास्केटमा ३८ आयोजना छन् । त्यसबाट ३३१ मेगावाट उत्पादन हुन्छ । प्रदेशमा ६ वटा जलाशययुक्त आयोजना निर्माणका लागि सम्भाव्यता पहिचान भएको छ । सो आयोजनाको कुल उत्पादन क्षमता ४ हजार ७४८ दशमलव ५ मेगावाट हुने छ ।

पहिचान भएका आयोजनाहरुमा एउटा १७२० मेगावाटको खिम्ती शिवालय रहेको छ । सो आयोजना रामेछापको खिम्ती नदीमा निर्माण गर्न सकिने देखिएको छ । यो आयोजनाको सम्भाव्यतामाथि विभागले अझै अध्ययन गरिरहेको छ । विभागका महानिर्देशक चिरञ्जीवी चटौतले नेपालमा जलाशययुक्तमध्ये राम्रो देखिएको बताउनुभयो । यो आयोजना बंगलादेशसँग संयुक्त कम्पनी निर्माण गरेर अघि बढ्ने विषयमा अनौपचारिक रूपमा छलफल समेत भएको छ ।

१०४ मेगावाटको कोखाजोर जलविद्युत आयोजना काभ्रे, सिन्धुली र मकवानपुरमा पहिचान भएको छ । सो आयोजनाको सम्भाव्यता र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयारीको काम भइरहेको छ । यो आयोजनाको पनि विभाग मातहत नै अध्ययन भइरहेको छ ।

११६ मेगावाटको आयोजना अध्ययनका क्रममा क्षमता घटाएर १०४ मेगावाटको बनाउन सकिने निर्धारण गरिएको हो । ९७८ मेगावाटको सुनकोसी–२ आयोजना रामेछाप, सिन्धुली र काभ्रेपलान्चोकमा निर्माण हुनेछ । यो आयोजनाबाट २८ वटा वडाहरुमा प्रभावित हुनेछन् । आयोजनाको बाँध तल्लो पहाडी भेग रामेछाप नगरपालिका र सिन्धुलीको गोलन्जोर गाउँपालिकामा प्रस्ताव गरिएको छ । यो आयोजनाको जलाशयले मन्थली नगरपालिकाको मन्थली बजार, खाँडादेवी गाउँपालिका, मुगिटार,सुनकोसी गाउँपालिका, खुर्कोट, गोलन्जोर गाउँपालिकाको ग्वालटार आदि बस्तीहरु आंशिक वा पूर्ण रुपमा डुबानमा पर्नेछ । निर्माणमा २ खर्ब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । सम्भाव्यता र इआइए तयार भइसकेपनि लगानीको टुंगो नलागेका कारण काम अघि बढ्न सकेको छैन । ६८३ मेगावाटको सुनकोसी–३ जलविद्युत आयोजनाको पनि सम्भाव्यता र इआइए अध्ययनको काम पूरा भएको छ ।

आयोजना रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्लामा पहिचान भएको छ। आयोजना नेपाल र बंगलादेशबीच संयुक्त रुपमा विकास गर्नका लागि विभिन्न चरणमा छलफल भइसकेको छ ।