
जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकाले ११३ औँ अन्तराष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ ।
लैँगिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने राष्ट्रिय मुल नाराका साथ जिरी नगरपालिकाले हिजोदेखि आजसम्म विभिन्न कार्यक्रमको आयोजना गरी ११३ औँ अन्तराष्ट्रिय महिला दिवस मनाएको हो । दिवशको अवसरमा आयोजित कार्यक्रममा जिरी नगरपालिकाकी उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले शुभकामना मन्तव्य राख्दै काममा महिला र पुरुषलाई समान रुपमा नलिएको भन्दै दुवैलाई बराबरी मान्नुको साथै ज्यालामा पनि समान गर्नुपर्नेमा जोड दिनुभयो ।
दिवसको अवसरमा नगरपालिकाले नगरस्तरीय महिला भलिवल प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता तथा नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । जसअनुसार महिला भलिवलतर्फ सहिद स्मृति आवासीय मावि प्रथम भएको छ । सहिद स्मृति आवासीय माविले गर्जाङढुंगा माविलाई पराजित गर्दै प्रथम स्थान हालिस गर्न सफल भएको हो । यो सँगै गर्जाङढुंगा माविले दोस्रो स्थानमा चित्त बुझाएको छ । जिरी प्राविधिक शिक्षालय तृतीय भएको छ भने बौद्ध भुवनेश्वरी मावि येलुङ सान्त्वना भएको छ । प्रतियोगितामा प्रथम हुने सहिद स्मृति आवासीय माविले नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, द्धितिय हुने गर्जाङढुंगा माविले नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, तृतीय हुने जिरी प्राविधिक शिक्षालयले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना हुने बौद्ध भुवनेश्वरी माविले नगद ५ हजार पुरस्कार प्राप्त गरेको छ । भलिवल प्रतियोगतामा ६ टिमको सहभागिता रहेको थियो ।
यस्तै, लोक नृत्यतर्फ जेम एकेडेमी प्रथम, एकल प्रतिस्पर्धी सजना कार्की द्धितिय, देउराली प्रावि तृतीय र एकल प्रतिस्पर्धी मेलिसा ढुंगेल सान्त्वना भएका छन् । वक्तृत्वकलातर्फ प्रथम मेलिसा ढुंगेल, द्धितिय सपना दनुवार, तृतीय पेमछेकी शेर्पा र रचना केसी सान्त्वना भएकी छन् । दुवै प्रतियोगताका विजेताहरुलाई क्रमशः प्रथम, द्धितिय, तृतीय र सान्तोवना हुनेलाई नगद ७ हजार, ५ हजार, ३ हजार र एक हजार पुरस्कार वितरण गरिएको जिरी नगरपालिकाकी महिला विकास शाखाकी सन्ध्या तिवारीले जानकारी दिनुभयो ।
विजेताहरुलाई जिरी नगरपालिकाका नगर प्रमुख मित्रबहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का र प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले पुरस्कार वितरण गर्नुभएको थियो ।