दोलखा । दोलखाको बोचमा कुटपिट गरी युवकको हत्या गरेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका दुई पुरुष पुर्पक्षका लागि थुनामा गएका छन् ।
दोलखा जिल्ला अदालतको आदेश बमोजिम दुई पुरुष हिजो पुर्पक्षका थुनामा गएका हुन् । जिल्ला अदालत दोलखाका श्रेष्तेदार अञ्जन भट्टको इजलासले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका, खागिलुङ घर भएका अन्दाजी ४५ वर्षीय पासाङ शेर्पा र २१ वर्षीय नुर्वु शेर्पालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । उनीहरुमाथि कर्तव्य ज्यान सम्बन्धी मुद्धा चलेको थियो ।
गत माघ २९ गते राती भीमेश्वर नगरपालिका–८ बोचमा कुटपिटवाट गम्भीर घाइते भएका स्थानीय २५ वर्षीय युवक सोनाम तामाङको फागुन १ गते विहान पशुपति चौंलागाई स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । लामोसाँगु–जिरी सडक अन्तर्गत बोच सडक खण्डमा बा ८४ प १११३ नम्बरको मोटरसाईकलसहित रक्ताम्य अवस्थामा तामाङ फेला परेका थिए ।
सिन्धुपाल्चोक घर भएका पासाङ र नुर्वु घटना लगत्तै पक्राउ परेका थिए । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा मुद्धा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेशको माग गर्दै बिहिबार दोलखा जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । अदालतको आदेश बमोजिम कारागार चलान भएका पासाङ टिपर गाडीका धनी हुन् भने नुर्वु पासाङको मामाको छोरा हुन् ।










