images
images

सरकारले पुनः वार्तामा बोलाएपछि आन्दोलनरत शिक्षकहरु समीक्षा बैठकमा

  • २६ चैत्र २०८१, मंगलवार १८:०१

काठमाडौँ । सरकारले पुनः वार्तामा आउन आह्वान गरेपछि नेपाल शिक्षक महासँघ आन्दोलनको समीक्षामा जुटेको छ ।

शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलनमा रहेको महासँघ समीक्षामा जुटेको हो । आन्दोलनको समीक्षासहित थप रणनीति तय गर्न बैठक बोलाईएको महासँघले जनाएको छ । सरकारले आन्दोलनरत शिक्षक महासँघलाई पुनः वार्तामा आउन आह्वान गरेपछि महासँघ आन्दोलनको समीक्षा बैठकमा रहेको आन्दोलन परिचालक समितिको संयोजक एवम् महासँघको सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई भोलीका लागि वार्तामा बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला सरकारी पक्षसँग छलफल गरेपछि मन्त्रालयले शिक्षकहरुलाई पुनः वार्तामा बोलाएको हो । मन्त्रालयले यसअघि चैत २१ र २२ गते पनि शिक्षकहरुलाई वार्तामा बोलाएको थियो । तर, शिक्षकहरु वार्तामा नआएपछि राहत एवम अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगाएतका सबै शिक्षक–कर्मचारीको प्रतिनिधित्व हुनेगरि उपस्थित हुनका लागि नेपाल शिक्षक महासँघलाई पुनः वार्तामा बोलाईएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिनुभयो ।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विद्येयक, २०८० प्रतिनिधिसभामा पेश भएकोमा त्यसलाई यथाशीघ्र पारित गर्न माग राख्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु केहीदिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । आन्दोलनका कार्यक्रम अन्र्तगत शिक्षकहरुले आज दिउँसै टर्च बालेर प्रदर्शन गरेका छन् । सडक आन्दोलन गरेको सात दिन बितिसक्दा पनि सरकारको ध्यान नगएको भन्दै उनीहरुले दिउँसै टर्च बालेर काठमाडौँमा प्रदर्शन गरेका हुन् ।