भक्तपुर । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहले उनीहरूसँग सामूहिक भेट र संवाद गरेका हुन् ।
सरकारलाई समर्थन र सहयोगको प्रतिबद्धता
भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत र नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो ।
राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिनुका साथै नेपाली जनताको हितमा परिणाम दिने गरी हुने कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
प्रधानमन्त्री बालेनको जवाफ
प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए ।
शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै उनले नेपाली श्रमिक तथा विदेशमा रहेका नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको बताए । प्रधानमन्त्री शाहले सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकारको दृढ प्रतिबद्धता व्यक्त गरे ।
सामूहिक छलफलको नीति
यसअघि विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, नेपालस्थित कूटनीतिक नियोग प्रमुखहरूले प्रधानमन्त्रीसँग भेटको प्रस्ताव पनि राख्दै आएपनि प्रधानमन्त्री बालेनले त्यसमा रूचि नदेखाएको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री बालेनको विदेशी राजदूतहरूसँग सामूहिक रूपमा छलफल गर्ने र सामूहिक रूपमा नै दृष्टिकोण राख्ने योजना र तयारीअनुसार नै भेटघाटको कार्यक्रम गरिएको हो ।



हाम्रो अपडेट 






