images
images

आजबाट प्रि–बजेटमाथि छलफल हुने, कस्तो आउँदैछ आगामी बजेट ?

  • २५ बैशाख २०८०, सोमबार ०९:४७

काठमाडौं । संसदमा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको छ ।

सरकारले मुलुकको आर्थिक विकासका लागि रोजगारी सिर्जना र सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने भएको हो । त्यसका लागि प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । प्रतिनिधि सभा बैठकमा आज देखि २७ गतेसम्म प्रि–बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रि–बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम तय भएको छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा अर्थमन्त्री महतले ‘आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्दै अर्थतन्त्रलाई गतिशील बनाई दिगो फराकिलो एवं समावेशी आर्थिक वृद्धि र समावेशी आर्थिक विकासलाई ध्यान दिएर बजेट ल्याइने बताउनुभएको छ ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा १५ दिन अघिनै प्रि–बजेट छलफल समाप्त गरिसक्नुपर्छ । जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता छ । अर्कोतर्फ नेकपा एमालेले २८ गतेदेखि केन्द्रीय समिति बैठक आह्वान गरेकाले पनि यही वैशाख २७ गते नै प्रि–बजेट छलफल सक्ने कार्यतालिका बनाइएको छ ।
प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ । त्यसपछि जेठ १५ गते बजेट प्रस्तुत हुनेछ ।

सरकारले आगामी वर्षका लागि आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ ।