images
images

भीमेश्वर नगरपालिकामा ढिलोगरी जग्गा वर्गिकरण, ११ महिनापछि कित्ताकाट खुल्ला

  • २५ बैशाख २०८०, सोमबार १८:१४

दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा ११ महिनापछि जग्गाको कित्ताकाट खुल्ला भएको छ ।

नगरपालिकाले जग्गाको वर्गिकरण गरेसँगै नगरक्षेत्रभित्रका जग्गा आजदेखि कित्ताकाट गर्न पाईने भएको हो । नगरपालिमा गत जेठ २७ गतेदेखि रोकिएको कित्ताकाट आजदेखि खुल्ला भएको छ । भीमेश्वर नगरपालिकाले जग्गालाई कृषि, आवासिय, व्यवसायीक, औद्योगीक क्षेत्र, खानी तथा खनिज, वनक्षेत्र, नदि खोला ताल पोखरी सिमसार क्षेत्र, सार्वजनिक उपयोगका क्षेत्र तथा सांस्कृतिक पुरातात्विक महत्वको क्षेत्रमा वर्गिकरण गरेको छ । जसअनुसार वडा नम्बर १, २, ३, ६, ७, ८ र ९ को जग्गालाई ९/९ प्रकारमा वर्गिकरण गरिएको छ भने वडा नम्बर ४ को जग्गालाई ८ प्रकारमा तथा वडा नम्बर ५ को जग्गालाई ७ प्रकारमा वर्गिकरण गरेको छ । नगरपालिकाले यसअघि जग्गालाई कृषि र गैरकृषि क्षेत्र मात्रै भनेर वर्गिकरण गरी मालपोत कार्यालय दोलखामा पठाएको थियो ।

तर सो वर्गिकरण स्पष्ट नभएको भन्दै मालपोत कार्यालयले पुनः वर्गिकरण गर्न भनेको थियो । नगरपालिका पुनःजग्गा वर्गिकरण गरी मालपोत कार्यालयमा पठाएकाले आजदेखि नगरपालिका क्षेत्रभित्रका जग्गा कित्ताकाट गर्न पाईने भएको हो । भीमेश्वर नगरपालिकाका इन्जिनियर सुरेश राउतले आजदेखि नगर क्षेत्रभित्रका जग्गा कित्ताकाट गर्न पाउने जानकारी दिनुभयो । मालपोत कार्यालय दोलखाका प्रमुख धनकुमार तमाङले हालसम्म वैतेश्वर गाउँपालिका, विगु र भीमेश्वर नगरपालिकाले मात्रै जगगा वर्गिकरण गरेकाले यी पालिकाको मात्रै कित्ताकाट खुल्ला भएको जानकारी दिनुभयो ।