images
images

आमालाई सम्मान गर्दै आज मातातीर्थ औँसी मनाइदैँ

  • २६ बैशाख २०८१, बुधबार ०६:१५

काठमाडौँ । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ ।

दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाउन लागिएको हो । छोराछोरीलाई आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खानेकुरा खुवाउने, लुगाफाटो लगायत उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने परम्परा छ । आमा नभएकाले भने तर्पण वा श्राद्ध गरेर उनको सम्झना गर्छन । प्रत्येक वर्षको बैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाई आमाको मुख हेर्ने दिन वा आमा खुवाउने औँसी भन्ने गरिन्छ । आज हाम्रो सांस्कृतिक परम्पराअनुसार आमाको मुख हेर्ने र सम्मान व्यक्त गर्ने विशेष दिन हो ।

यसैबीच दिवंगत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न बैशाख कृष्ण औँसीका दिन काठमाडौँको मातातीर्थमा मेला लाग्ने भएको छ । आज ९ घडी २१ पला अर्थात बिहान ९ बजेर ६ मिनेटसम्म मात्र औँसी तिथि रहेको पञ्चाङगमा उल्लेख गरिएको छ ।