images
images

सुनकोसी–मरिन डाइभर्सनका बाँकी काम निर्धारित समयमै सक्न प्रधानमन्त्रीको निर्देशन

  • २६ बैशाख २०८१, बुधबार १०:२६

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँ पालिकामा ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिनुभएको हो । उहाँले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिनुभयो । बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्ने भएकाले समयमै कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्न उहााले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्नेगरी काम गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री प्रचण्डले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिनुभयो ।

सुरुङमार्ग बाहेक अन्य काम ब्यारेज, पावर हाउस, इलेक्ट्रोमेकानिकल, ट्रान्समिसन लाइन, नदी नियन्त्रण र सामाजिक विकासका कार्य पनि उच्च प्राथमिकताका साथ समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।