सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आयोजनाको सुरुङ ब्रेक थ्रु गर्नुभएको हो । सिन्धुलीको सुनकोसी गाउँपालिका ७ कानढुङग्री नजिकै आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गर्नुभएको हो । यो आयोजनाले सिन्धुली र रामेछाप जिल्लाको सिमानाबाट सुनकोसी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीमा खसाली बागमती नदी हुँदै बागमती सिञ्चाई आयोजनामा पु¥याईनेछ । सनुकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय परियोजनाको १८ महिनामै ब्रेक थ्रु भएको हो । टीबिएम मेसिनबाट २०७९ असोज अन्तिमबाट खन्न सुरु गरिएको सुरुङ छोटो समयमै छिचोलिएको हो । मेसिनले १८ महिनामा १३ किलोमिटर सुरुङ खनेसँगै आज ब्रेक थ्रु भएको छ । आयोजना आर्थिक वर्ष २०७३/७४ मा नै सुरु भएपनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० मा शिलान्यास गर्नुभएको थियो ।

शिलान्यासका क्रममा प्रधानमन्त्री प्रचण्डले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन समेत दिनुभएको छ । सो आयोजना ५१ महिनामा सम्पन्न गरिसक्ने सम्झौतामा उल्लेख छ ।











