images
images

प्रहरी हुँ भन्दै धम्क्याएर रकम माग गर्ने एक पुरुष पक्राउ

  • २५ जेष्ठ २०७९, बुधबार ०८:१०

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाका विभिन्न स्थानमा प्रहरी हुँ भन्दै स्थानीयलाई डरत्रास देखाएर रकम माग गर्ने एक पुरुष पक्राउ परेका छन् ।

प्रहरीको अर्ध पोसाक लगाएर रकम माग गर्ने जुम्लाको सिन्जा गाउँपालिका वडा नम्बर ६ रुगाका निर्जल शाही भनिने विष्णु बहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ७ जयमंगल बजारमा शंकास्पद रुपमा प्रहरीको गन्जी र कट्टु लगाएर हिडिरहेका बेला उनलाई पक्राउ गरिएको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । मरिण गाउँपालिकाको भिन्न स्थानमा प्रहरी हुँ भनेर डरत्रास देखाएर एक पुरुषले स्थानीयसँग रकम माग गरिरहेकाले सत्यतथ्य छानविन गर्न भन्दै स्थानीय बिमल आरणले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका शाहीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उता, सिन्धुलीको मरिण गाउँपालिकाका एक पुरुष लागुऔषध र एक थान गोली सहित पक्राउ परेका छन् । मरिण गाउँपालिका वडा नम्बर ७ छापका दिपक कार्कीलाई प्रहरीले लागुऔषध र गोली सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि जिल्ला अदालत सिन्धुलीबाट एकसाताको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।