जिरी (दोलखा) । ‘झट्ट हेर्दा देखिन्छ अब आधा उमेर ढल्किसक्यो । अबको केही वर्षमा वृद्धा भत्ता खाने उमेर पनि पुग्ला । पढ्ने बेलामा हँसिया हथौंडा हातमा, उमेर ढल्किँदै गएपछि आयो किताव साथमा ।’
यस्तै, भएको छ दोलखाको जिरी नगरपालिका– ९ ठूलोपातलका आमाहरुलाई । एक महिना अघि मात्रै दोलखाको जिरी नगरपालिका–९ स्थित ठूलोपातलका ३३ जना आमाहरु विद्यालय भर्ना भए । भनिन्छ, पढ्नलाई उमेरले छेक्दैन । बाल्यकालमा हँसिया हथौडा चलाउन सिकेका तिनै आमाहरु अहिले किताव पढ्न र लेख्न सिक्दै छन् । ग्रामीण भेगका अधिकांश आमाहरु यो सुविधाबाट बञ्चित छन् । तर, ठूलोपातलका आमाहरुले यो अवसर पाएका छन् ।
ठूलोपातल माविमा कक्षा ३ मा भर्ना भएका आमाहरु अन्दाजी ३० देखि ६० वर्ष उमेर समुहका छन् । कुनै बेला चुलोचौको र घाँस दाउरामा दिनचर्या बिताउने आमाहरुले आजभोली आधा दिन विद्यालयमै बिताउँछन् । उनीहरु घरको कामकाज र बस्तुभाउ व्यवस्थापन गरेर विहान १० बजे विद्यालय पुग्छन् र दिउँसो १ बजे खाजा खाएर छुटिन्छन् । ती आमाहरुले पढ्ने इच्छा जाहेर गरेपछि विद्यालयमा भर्ना हुन आव्हान गरेको र करिब एक महिनादेखि उनीहरु विद्यालय पढ्न आइरहेको ठूलोपातल माविका प्रधानाध्यपक सुनिल कुमार सुनुवार बताउनुहुन्छ ।
एक दिन आमाहरु विद्यालय नजिकै आमा समूहको बैठकमा आएका थिए । त्यो बेला सचिव नआएर बैठकको माइन्युट लेख्ने मान्छे नभएपछि लामै समय कुर्न बाध्य भए । खास कुरा चाँहि आमा समुहमा आवद्ध आमाहरु कोही पनि पढेलेखेको नभएपछि समस्या भएको रहेछ । सोही क्रममा प्रधानाध्यापक सुनुवारले समस्या बुझेर आमाहरुलाई पढ्नकालागि विद्यालय आउन आग्रह गर्दै विद्यालय भर्ना भए निशुल्क पढ्ने व्यवस्था हुने बताउनुभयो । त्यहिवेला आमाहरुले पढ्ने इच्छा जाहेर गरेपछि भोलीपल्टै १२ जना आमाहरु विद्यालय भर्ना भए । अहिले थप हुँदै गएर कक्षा ३ मा पढ्ने आमाहरुको संख्या ३३ पुगेको छ ।
आमाहरु कक्षा ३ मा भर्ना
जिरी नगरपालिकामा आमाहरुलाई पढाउने एक मात्रै विद्यालय हो, ठूलोपातल मावि । सम्भवतः जिल्लाका अन्य कुनै पनि विधालयमा यस्तो व्यवस्था छैन । विद्यालयले उनीहरु सबै जनालाई कक्षा ३ मा भर्ना गरेको छ । आमाहरुलाई पढाउने शैलीमा दुई वटा विधि अपनाइएको प्रधानाध्यापक सुनुवारले बताउनुभयो । उनीहरुलाई म्युजिकको माध्यमबाट र सामान्य तरिकाले अक्षर चिनाउनेगरी पढाईन्छ । आमाहरुको पढाई बालबालिकालाई भन्दा फरक ढंगले गरिएको छ । तीन जना शिक्षकले पालैपालो पढाउने गरेको उनीहरुको सेक्सन पनि छुट्टै छ ।
आलु रोप्न र खन्नका लागि विदा
अहिले भुसुने, सल्लेफेदी, सल्लेका तामाङ, क्षेत्री र श्रेष्ठ समुदायका आमाहरु एउटै पोसाकमा विद्यालय जान्छन् । पोसाकमा समेत एक रुकपता गर्दै अनुहारमा खुसी र हौसला बोकेर आमाहरु फरिया र चोलोमा चट्ट सजिएर विद्यालय जान गरेका छन् । ठूलोपातलमा विशेषगरी आलु खेती हुने भएकोले विद्यालयले उनीहरुलाई असारमा १५ दिन आलु खन्न र पुसमा रोप्नकालागि एक महिना विदा दिने भएको छ । उनीहरुले बीचमा पढाई नछोडे र धमाधम पढ्न अग्रसर भए कक्षा वृद्धि गर्दै लैजाने विद्यालयको तयारी छ ।
आफुहरु अहिले कक्षा ३ मा भर्ना भएर विद्यालय पढाईको सुरुवात गरेपनि एसईई सम्म पढ्ने सोच रहेको ठूलोपातलका ५२ वर्षीया आमा लिलामाया तामाङ बताउनुहुन्छ । पढाई नभएको कारण सामान्य कारोबार, कृषक समूह तथा आमा समूहको बैठक समेत बस्न र निर्णयहरु लेख्न नसक्ने भएपछि पढ्न उत्सुकता जागेको उहाँको भनाई छ ।
बाल्यकालमा घरको आर्थिक अभाव, विद्यालयको राम्रो व्यवस्था नहुनु र छोरीलाई पढाउनु हुँदैन भन्ने सामाजिक मानसिकताका कारण धेरै ग्रामीण महिलाहरु बढ्नबाट बञ्चित हुने गरेका थिए । अहिले उनीहरुलाई आफैले विधालय पठाएर शिक्षित बनाएका छोराछोरीले नै पढ्न प्रोत्साहन गर्ने गरेका छन् ।



सिर्जना गोले 






