जिरी (दोलखा) । पछिल्लो २४ घण्टामा दोलखामा भारी वर्षा भएको छ ।
दोलखाको सिँगटी, जिरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको हो । ठूलो वर्षाका कारण खिम्ती खोला, जिरी खोला लगायत तामाकोसीका साना सहायक नदीमा आकस्मिक बहाव बढ्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी आसपासका क्षेत्रमा बाढीको खतरा रहेको र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
लगातारको वर्षाका कारण जिल्लाको विभिन्न स्थानमा गएराती बाढी र पहिरो गएको छ । लगातारको वर्षाका कारण दोलखा सदरमुकाम चरिकोट नजिकै म¥याङखोलामा बाढी आएको छ भने सिंगटी लगायतका क्षेत्रमा पहिरोले क्षति पु¥याएको छ । चरिकोट नजिकै रहेको म¥याङखोलामा बस्तीमाथिबाट मध्यराती बाढी आएको छ । बाढीका कारण दोलखा–चरिकोट सडक खण्ड मध्यरातीदेखि अवरुद्ध भएकोमा केहीबेरअघिदेखि एकतर्फी सुचारु भएको दोलखाका प्रहरी निरिक्षक राजेश सिग्देलले जानकारी दिनुभयो । अहिले दुईतर्फी सञ्चालनका लागि सडकबाटो खुलाउने प्रयास भइरहेको दोलखा प्रहरीले जनाएको छ ।
यस्तै, उता सिंगटीमा पनि बस्ती माथिबाट राती पहिरो गएको छ । सिंगटी बजारस्थित खोलिखिममा पहिरो जाँदा दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । यद्धपी मानवीय क्षति भने नभएको दोलखा प्रहरीले जनाएको छ । गएराती सिंगटीको लादुक जाने सडकको पुलसँग जोडिएको खोलीखिम बस्तीमा सडकको ग्याविन सहितको पहिरो आएपछि बस्तीनै जोखिममा परेको छ ।











