दोलखा । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले बाढी पहिरो पीडितको राहत तथा उद्धारको काम प्रभावकारी रुपमा गर्न आफुहरु जिम्मेवारपूर्ण ढंगले लागि परेको बताउनुभएको छ ।
प्रमुख घतानीले लगातारको वर्षापछि बाढी र पहिरोबाट क्षति भएकाहरुको पुर्नस्थापना, राहत तथा उद्धारको कामका लागि जिम्मेवारपूर्ण ढंगले लागि परेको बताउनुभएको हो । हाम्रो रेडियोको कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै उहाँले बाढीपहिरोको जोखिममा परेकाहरुकोे पुर्नस्थापना र राहतका विषयमा सरोकार पक्षबीच छलफल भइरहेको जानकारी दिनुभयो । कालिञ्चोकको लापिलाङ, सुनखानी, मालुखोला, लगायतको बाढीपहिरोका कारण क्षेत्रिग्रस्त स्थानहरुको अवलोकन गर्नुका साथै जोखिममा परेका वस्तीको नागरिकलाई सुरक्षित राख्नका लागि स्थानीय सरकार र जिल्लास्तरवाट समेत पहल भईरहेको उहाँले बताउनुभयो । विपद्ग्रस्त स्थानको प्रहरीले मुचुल्कासहित क्षतिको विवरण संकलनको काम गरिरहेको र विवरण आएपछि पीडितको राहतका लागि थप पहल गरिने जिसस प्रमुख घतानीको भनाई छ ।
अर्को फरक प्रसङ्गमा जिसस प्रमुख घतानीले अवैधरुपमा सञ्चालन भइरहेका क्रसर उद्योगको नियमनका लागि पहल भइरहेको बताउनुभयो । अनुगमनका क्रममा अधिकांश क्रसर उद्योगको प्रमाणपत्र नभएको, स्टक सामान र बजारीकरणको बारेमा केही जानकारी नभएको पाइएको भन्दै उहाँले त्यस्तो कार्य नियन्त्रणका लागि सञ्चालकसँग बसेर छलफल गर्ने बताउनुभयो । जिल्लामा अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगलाई कानुनी प्रक्रिया पु¥याएर सञ्चालन गर्न दिने र तामाकोशी नदीमा हुने नदीजन्य पदार्थको अवैध उत्खनन कडाईकासाथ नियन्त्रण गरिने उहाँको भनाई छ ।
जिसस प्रमुख घतानीले सदरमुकाम चरिकोटस्थित जिल्ला अदालतको माथिल्लोतर्फ निर्माणको चरणमा अलपत्र परेको सिटीहल निर्माणको टुंगो लगाउने पनि बताउनुभएको छ । केही समयअघि हाम्रो रेडियोले ९ वर्षदेखि सिटिहल निर्माणको क्रममा अलपत्र परेको समाचार प्रसारण गरेको थियो । प्रमुख घतानीले सिटीहल निर्माणको काम अलपत्र परेको विषयमा आफ्नो ध्यान केन्द्रीत भएको भन्दै सम्बन्धीत निकायमा पुगेर छिनोफानो गर्ने बताउनुभयो । ठेकेदारले काम नगरेर अलपत्र परेको अवस्थामा पुनः ठेक्का लगाउने जानकारीमा आएको भन्दै उहाँले सम्बन्धीत निकायमा पुगेर सो विषयको टुंगो गरेर निर्माण प्रक्रिया अघि बढाउन जिससवाट औपचारिक आग्रह गरिने जानकारी दिनुभयो ।











