images
images

भीमेश्वर नगरपालिकाको सेवा प्रवाहमा सूचना प्रविधिः अवसर र चुनौती

भीमेश्वर नगरपालिका–३ तार्थलीका तारा थापा मकैका कीरा लागेर हैरान भएपछि उपचारको विधि खोज्दै नगरपालिकाको कृषि शाखामा आउनुभयो । छिमेकीले नगरपालिकाबाटै औषधी लगेर मकै बालीको कीरा नियन्त्रण गरेपछि उहाँ पनि कृषि शाखा आउनु भएको हो ।

फौजी कीराको प्रकोप देखेपछि उपचारका लागि नगरपालिकाले औषधी वितरण गर्दै आएको छ । कृषि शाखाकी सहायक कृषि प्रसार अधिकृत राधिका बुढाथोकीले औषधी वितरण गर्दै त्यसको प्रयोगबारे कृषक थापालाई जानकारी गराएर पठाउनुभयो ।

सूचनामा सामाजिक सञ्जालको प्रयोग

कृषि शाखामा कृषिका अनुदानका कार्यक्रम, विभिन्न रोग किराको प्रकोप, कृषि सामाग्री वितरण लगायतका कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । यी र यस्ता सेवासुविधाका बारेमा स्थानीय सञ्चारमाध्यम, सामाजिक सञ्जाल, वडा कार्यालय लगायतका माध्यमवाट सूचना दिने गरिएको बुढाथोकीको भनाई छ ।

नगरपालिकाको पशु शाखाले पनि अनुदानका कार्यक्रम, पशुसम्बन्धी शिविर, पशु सम्वन्धि रोग नियन्त्रण लगायतका सूचनाहरु प्रसारण गर्ने गर्दछ । यसका बारेमा पनि माथि उल्लेख गरिए जस्तै सञ्चारका माध्यमवाट जानकारी दिने गरिन्छ । जानकारी पाउने किसानहरु सेवा लिनकालागि कार्यालयमै आउँछन् । बाख्रामा नाम्ले लागेर हैरान भएपछि नगरपालिकाको कार्यालय आएकी भीनपा–३ पाखाटोलकी लीलामाया श्रेष्ठलाई पशु शाखाकी सहायक पशु विकास अधिकृत रमला घिसिङले औषधीको प्रयोगका बारेमा जानकारी दिएर पठाउनुभयो ।

शिक्षा शाखाले शिक्षा सम्वन्धि सूचना र जानकारी दिन नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरुको सामाजिक सञ्जालमा एउटा छुट्टै ग्रुप बनाएको छ । सोही ग्रुपबाट शिक्षा शाखामा आएका सूचनाहरु विद्यालयसम्म पुग्ने गर्दछ । भीमेश्वर नगरपालिकाले सेवाग्राहीसँग जोडिनकालागि आम सञ्चारका माध्यमका अलावा सामाजिक सञ्जाल, नगरको वेभसाईट, वडापालिकासम्मको संयन्त्र प्रयोग गर्ने गरेको छ ।

सूचनाको सारथि सामुदायिक रेडियो

भीमेश्वर नगरपालिकाले नगरपालिकाको कार्यालयवाट दिने सेवासुविधा, सेवा प्रवाह तथा नागरिक सरोकारका बिषयहरु नगरवासीसम्म पुर्याउनकालागि नगरभित्र रहेका रेडियोहरुलाई उपयोग गर्दै आएको छ । नगरभित्र रहेका ४ वटा सामुदायीक र एउटा व्यवसायीक रेडियो मार्फत नगरपालिकाले आफ्ना हरेक सूचना र सन्देश प्रसारण गरी नगारिकसम्म पुर्याउँछ ।

यसकालागि नगरपालिकाले वार्षिक कार्यक्रममै रेडियोसँगको साझेदारीलाई समेट्ने गरेको छ । नागरिक र समुदायसँग जोडिने सूचनाहरु ५ वटै रेडियोले नियमितरुपमा वर्षभरी प्रशारण गदैै आएका छन् । यसका अलावा नगरपालिकाले स्थानीय पत्रपत्रिका मार्फत पनि आफ्ना सूचना सन्देश प्रकाशन गर्ने गरेको छ ।


नागरिक बडापत्र

भीमेश्वर नगरपालिकाले आफ्नो कार्यालय भवनको अगाडि नागरिक बडापत्र राखेको छ । बडापत्रमा नगरपालिकाले प्रवाह गर्दै आएका सेवासुविधा, आवश्यक कागजात, सेवा शुल्क र सेवा लिन लाग्ने समय अवधि उल्लेख छ । यसवाट नगरवासीहरु प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।

सेवा प्रदायकको विवरण

नागरिक बडापत्रबारे जानकारी लिईसकेपछि कार्यालयमा आफुले लिने सेवा कुन कोठा र कुन कर्मचारीवाट लिने ? भन्ने विवरण पनि भीमेश्वर नगरपालिकाको मुख्य प्रवेश द्धार अगाडि राखिएको छ । सेवा दिने शाखा, कर्मचारी र कोठा नम्बर सहितको उक्त विवरणवाट सेवाग्राही बिना अलमल सेवा लिने कक्ष र कर्मचारीसम्म पुगेर सेवा लिन सहजता भएको छ ।

सूचना प्रविधिको विकाससँगै नगरपालिकाले ई–गर्भर्नेन्स सेवा अन्तर्गतका विभिन्न सूचना प्रविधिको पहुँच बढाएको छ । जसअन्तर्गत हाल नगरपालिका, वडा कार्यालय, स्वास्थ्य चौकीमा ई–हाजिरी सञ्चालनमा छ । यसले कर्मचारीलाई कार्यालय समयको पालना र सेवा प्रवाहमा पारदर्शिता कायम गर्न बल पुगेको छ ।

नगरपालिकाले बजार क्षेत्रको सुरक्षा र अनुगमनका लागि सिसि क्यामेरा जडान गरेको छ । नगरपालिको मुख्य बजार क्षेत्र चरिकोटमा हाल ६ किमि अप्टिकल फाईबर तथा सिसि क्यामेरा जडान भैसकेको छ । यसको सञ्चालनको जिम्मा जिल्ला प्रहरी कार्यालय दोलखालाई दिइएको छ । सिसि क्यामेरा जडानपछि बजार क्षेत्रमा हुने चोरी डकैती जस्ता आपराधिक क्रियाकलापमा कमी ल्याउन सहयोग पुगेको नगरपालिकाका अधिकारीहरु बताउँछन् ।

सफा भीमेश्वर नगर अभियानका लागि जथाभावी फोहोर फालेको सिसि क्यामेरा मार्फत अनुगमन हुने गरेको छ ।

यसरी गरिदैछ सूचनामा प्रविधिको प्रयोग

नगरपालिकाले न्यायिक समिति मार्फत् हुने कामहरु सफ्टवेयर मार्फत् अद्यावधिक गरी कार्यान्वयनमा रहेको जनाएको छ भने विद्युतीय घर नक्सापास प्रणाली सञ्चालन गरेको छ । जसबाट नक्सापास अनलाईनबाटै दर्ता गर्न मिल्दछ ।

यस्तै, सामाजिक सुरक्षा भत्ता वितरण पनि सामाजिक सुरक्षा भत्ता ‘वायो मेट्रिक्स’ प्रणालीबाट सञ्चालन भैरहेको छ । यसअघि सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा लाभग्राही पहिचान र भत्ता भुक्तानी प्रक्रिया व्यवस्थित थिएन । स्रोत चुहावट, दोहोरोपना, समयमा भुक्तानी नहुने, असुरक्षा जस्ता समस्या विद्यमान थिए । व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण कार्यमा सूचना प्रविधिको प्रयोगसँगै सेवा प्रवाहमा समयबद्धता, पारदर्शिता साथै दोहोरोपना र चुहावट न्यूनीकरण भएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ५ की उमामाया बस्नेत अहिले वडाबाटै सामाजिक सुरक्षा भत्ता लिनुहुन्छ । वडावाटै भत्ता लिन पाएकोमा उहाँलाई निकै खुसी लागेको छ । नगरपालिकाको पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखाकी एमआईएस अपरेटर कविता ढुंगेलका अनुसार सफ्टवेयर मार्फत् हुने भएकाले यसमा विगतमा देखिँदै आएको गल्ती कमजोरी समेत नहुने हुँदा पारदर्शिता कायम भएको छ । यद्यपि कहिलेकाहीँ सर्भरमा समस्या हुँदा भने काम गर्न निकै समस्या हुने गरेको उहाँको भनाई छ ।


हिजोभन्दा आज सहज

नगरपालिकाको सम्पत्ति व्यवस्थापनका लागि ‘प्याम्स भिटु सफ्टवेयर’ मार्फत् जिन्सी विवरण राख्ने गरिन्छ । विगतमा ढड्डामा सामान खोज्दा निकै झन्झटिलो भएपनि अहिले निकै सहज भएको नगरपालिकाका जिन्सी ईकाई आन्तरिक लेखा परिक्षक ज्ञानुकुमार खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिन्सी मालसामानहरुको आम्दानी तथा खर्च प्राप्ति खर्च एबम् उपयोग र बाँकी, सोको अभिलेख, संरक्षण, नियन्त्रण, निरीक्षण, सोसम्बन्धी प्रमाण कागजातहरु र जिन्सी सम्बन्धी अभिलेखहरुको विश्लेषण, मूल्यांकन तथा प्रतिवेदनहरु राखिन्छ । यसले मालसामान तथा सम्पत्तिहरुको वास्तविक चित्र उतार्दछ ।

सफ्टवेयर प्रयोगपछि जिन्सी मालसामानहरुको हिनामिना तथा हानीनोक्सानी हुन नदिने, जिन्सी व्यवस्थापनलाई सरल, सक्षम, मितव्ययी र प्रभावकारी बनाउने कार्यमा यस्तो ठुलो सहयोग पु¥याएको उहाँले बताउनुभयो ।

पारदर्शिताकालागि ई–पेमेन्ट

आर्थिक पारदर्शिता कायम राख्न नगरपालिकाले ई– पेमेन्ट सुविधा अर्थात् उपभोक्ता समितिको खातामा भुक्तानी गर्ने कार्य सञ्चालन गर्दै आएको नगरपालिकाका पूर्बाधार विकास तथा प्राविधिक ईन्जिनियर नारायणप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भीमेश्वर नगरपालिकाले आयोजना/कार्यक्रम सञ्चालन गर्न सम्झौता गर्न, प्रतिवेदन तयार गर्न, भुक्तानी सिफारिस गर्ने योजना सफ्टवेयर (पिएमआईएस) मार्फत् कार्यान्वयन भैरहेको छ । ‘सूचना प्रबिधिको विकाससँगै चुनौतीहरु पनि सँगैसँगै थपिएको छ । नागरिक पनि सूचना प्रबिधिमैत्री नहुँदा समस्या देखिन्छ’ इन्जिनियर शिवाकोटी भन्नुहुन्छ– ‘कतिपय अवस्थामा सर्भरमा समस्या हुँदा समयमा सूचना नजाने र जनताको सूचना हेर्ने अभ्यास समेत नहुँदा चुनौती देखापरेको छ ।’

विपद्मा सूचना प्रबिधिको प्रयोग

भीमेश्वर नगरपालिकाले विपद् प्रतिकार्यमा पनि सूचना प्रविधिको प्रयोग गर्दै आएको छ । नगरपालिकाले गत वर्ष प्रत्येक वडामा ४३ जना नागरिक वैज्ञानिकलाई तालिम दिएर पठाएको थियो । उनीहरुले वडामा विपद् देखिएमा सर्वसाधारणलाई सचेत गराउने काम गर्दै आएका छन् । नगरपालिकाले प्रभावमा आधारित पूर्वानुमान भिट्रि कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसले वर्षामापन, वरपरको सानोतिनो पहिरोको अवस्था, खोल्साहरुको अवस्थाको बारेमा जानकारी गराउँछ ।

यस्तै, नगरपालिकामा पहिरोमा आधारित पूर्ब सूचना प्रणाली र वडा नम्बर ७ मा वर्षामापन यन्त्र जडान गरिएको पूर्वाधार विकास तथा वातावरण शाखाका ईन्जिनियर सुरेश राउतले जानकारी दिनुभयो । उहाँका अनुसार भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीस्थित बोसिम्पा बस्तीमा पहिरोमा आधारित पूर्ब सूचना प्रणाली जडान गरिएको छ । नगरले पहिरो जाने संकेत पाउनेबित्तिकै स्थानीयलाई जानकारी गराउने गरेको छ ।


नगरपालिकाले नागरिकलाई सेवा प्रदान गर्न कम्प्युटर तथा डिजिटल उपकरण, सफ्टवेयर तथा विद्युतीय प्रणालीहरु लगायतका सूचना प्रविधिको प्रयोग गर्दै सार्वजनिक सेवा प्रवाहमा गरिरहेको छ । भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल सूचना प्रविधिका कारण विगतका तुलनामा धेरै सहज भएको बताउनुहुन्छ । उहाँ अनुसार यसको प्रयोगले कामकाजलाई पारदर्शी, द्रुत, सुलभ र निकै प्रभावकारी बनाएको छ ।

सूचना प्रबिधिले काम गर्न सहज, भरपर्दो, रेकर्ड राख्न सजिलो, शुद्धता र नदोहोरिने भएकाले यसमार्फत काम गर्न धेरै सहज भएको उहाँको भनाई छ । पहिला रजिस्टरमा गर्ने काम अहिले कम्प्युटर सफ्टवेयरमार्फत हुँदा छिटोछरितो र पारदर्शि भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले ५ वर्षअघिको दस्तावेज पनि अहिले सजिलै खोज्न सकिने बताउनुभयो ।

नगरपालिकाले सुत्रमार्फत् राजस्व संकलन, सफ्वेयर मार्फत् औषधीका रेकर्ड राख्ने लगायतका काम पनि गर्दै आएको छ ।

ईन्टरनेटको पहुँच

भीमेश्वर नगरपालिकाको सबै वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा ईन्टरनेटको पहुँच छ । सरल, सहज र झन्झटमुक्त सेवा, द्रुत सेवा र समयको बचत, स्रोतसाधनको चुहावट न्यूनीकरण, सूचना, तथ्यांक तथा अभिलेखको चुस्त व्यवस्थापन, विपद् र महामारीको समयमा समेत सार्वजनिक सेवाको निरन्तरता कायम गर्न सूचना प्रविधको प्रयोगले ठूलो टेवा पुगेको नगर प्रमुख ईश्वरनारायण मानन्धरले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष ०८२/०८३ मा भीमेश्वर नगरपालिकाको ई–गभर्नेन्स मास्टर प्लान तयार गर्ने काम भैरहेको छ । आगामी दिनमा योजना अनुसार चुस्त, पारदर्शि तथा प्रभावकारी सेवाका लागि बजार क्षेत्रमा थप सिसी क्यामेरा जडान लगायतका थप कार्य गर्ने तयारी रहेको भीमेश्वर नगरपालिकाले जनाएको छ ।
भीमेश्वर नगरपालिकामा ९ वटा वडा, ३८ सामुदायिक र १८ निजी विद्यालय, विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा केन्द्रहरु छन् ।

सूचना प्रविधिमा चुनौती

भीमेश्वर नगरपालिकाले सूचना प्रविधिको प्रयोगमार्फत् सेवा प्रवाहमा उल्लेखनीय सुधार गरेको छ । सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगले सरकारी सेवामा सहजता, पारदर्शिता र दु्रतता ल्याएको छ । सूचना प्रविधिको विकासले दैनिक सेवा प्रवाहमा सरल, सहज, आरामदायी बनाउनुका साथै दैनिक कार्यसम्पादनको निगरानी, मूल्यांकन र नियन्त्रणका लागि स्थानीय सरकारको कार्यक्षमता मात्र नभएर दक्षता पनि बढाएको छ ।

तर, अवसरसँगै थुप्रै चुनौतीहरु पनि देखा परेका छन् । मुलुक पेपरलेस प्रणालीमा जाने भनिए पनि नेपालको परिप्रेक्ष्यमा कठिन देखिएको छ । डजिटल युगमा जाने भनिए पनि ईन्टरनेट सर्भिसलाई चुस्त, दुरुस्त बनाउन सकेको देखिँदैन । बेला–बेलामा सर्भरमा समस्या आउँदा कामकाज प्रभावित हुने गरेको छ । कतिपय अवस्थामा कामकाज नैं ठप्प हुन्छ ।

यसको प्रभावकारिता बढाउन डिजिटल पहुँच विस्तार, जनचेतना, साईबर सुरक्षा लगायतका पक्षमा ध्यान दिनु आवश्यक छ । डिजिटल विभाजन, सर्भर समस्या र जनचेतनाको अभावले थुप्र्रै चुनौती देखापरेको छ । डिजिटल पहुँच र जनसहभागिता विस्तार गर्दै सूचना प्रबिधिलाई सेवा प्रवाहको केन्द्रमा राख्नुपर्ने आवश्यकता देखिन्छ । यसबाट नागरिक र सरकारबीच सम्बन्धलाई अझ प्रभावकारी र विश्वासिलो बनाउन मद्धत पुग्छ । साथै नागरिकलाई सूचना प्रविधि मैत्री बनाउन नगरपालिकाले बिद्युतीय साक्षरता सम्बन्धी चेतना विकास गर्न समुदाय स्तरसम्म कार्यक्रम गर्नुपर्ने देखिन्छ ।