काठमाडौँ । दोलखाका एक सहित ५० वटा सहकारीले युवा स्वरोजगार कोषको ऋण नतिरेको पाईएको छ ।
५० वटा सहकारीले २७ करोड भन्दा बढि रकम तिर्न बाँकी रहेको पाईएको हो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थान सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारीता अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन अनुसार देशभरका ५० सहकारीले २७ करोड ३१ लाख ९७ हजार ३३१ रुपैयाँ नतिरेको पाईएको छ ।
जसअनुसार दोलखाको शैलुंगेश्वर कृषक सहकारी संस्थाले ५१ लाख भन्दा बढि रकम तिर्न बाँकी रहेको छ । शैलुंगेश्वर सहकारीले ५१ लाख ५१ हजार १४६ रुपैयाँ ५४ पैसा तिर्न बाँकी रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । यस्तै, सिन्धुलीको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले ५१ लाख ८३ हजार ५३७ रुपैयाँ र काभ्रेपलाञ्चोकको सफा बचत तथा ऋण सहकारीले ४६ लाख १९ हजार ५२८ रुपैयाँ तिर्न बाँकी रहेको छ ।
यसैगरी, ओखलढुंगाको लिब्जु भुम्जु बचत तथा ऋण सहकारी संस्थाले ६४ लाख ८० हजार ७८७ र मानेभञ्ज्याङ बचत तथा ऋण सहकारीले ४६ लाख ३४ हजार ५८१ रुपैयाँ तथा सोलुखुम्वुको एभरेष्ट कृषी सहकारीले ४८ लाख ८३ हजार ५७७ रुपैयाँ तिर्न बाँकी रहेको पाईएको छ ।
अध्ययनका क्रममा कतिपय सहकारीले नक्कली ऋणी खडा गरेर जथाभावी ऋण दिएको भेटिएको छ । प्रतिवेदन अनुसार कोषले बैंक तथा वित्तिय संस्थामा ३३ करोड ६० लाख लगानी गरेको छ । युवा स्वरोजगार कार्यक्रम अन्र्तगत अझै १ अर्ब ३१ करोड २३ लाख ४२ हजार ७८९ रुपैयाँ उठ्न बाँकी रहेको छ ।