काठमाडौँ । कीर्ते मुद्धामा दोषी ठहर भएका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसीले आत्मसमर्पण गरेका छन् ।
३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आज रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण लगत्तै सांसद केसीलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ । सांसद केसीलाई अदालत उपस्थित गराई आजै कारागार चलान गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता, एसएसपी माधव श्रेष्ठले जानकारी दिनुभयो ।
रुकुम पूर्व १ (ख) बाट निर्वाचित सांसद केसीलाई जिल्ला अदालतले किर्ते मुद्धामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो । तर, सजाय भुक्तान नभएको पत्र प्रहरीलाई पठाएलगत्तै केसी फरार भएका थिए । श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको अभियोगमा केसीलाई साविक रुकुम जिल्ला अदालतले २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो ।