images
images

अपराध अनुसन्धान कार्यालयका प्रहरीकै संलग्नतामा लुटपाट, रामेछापका एक सहित तीन जना पक्राउ

  • २३ भाद्र २०८१, आईतवार १७:२३

काठमाडौँ । विदेशबाट ल्याईएको सुन, मोबाईल र ल्यापटप लुटपाटमा प्रहरीकै संलग्नता रहेको खुलेको छ ।

लुटपाटको आरोपमा अपराध अनुसन्धान कार्यालयकै प्रहरीको संलग्नता रहेको पाईएको हो । विदेशबाट ल्याईएको सुन, आईफोन र ल्यापटप लुटपाट गरेको आरोपमा बाजुरा घर भई उपत्यका अपराध अनुसन्धान कार्यालय महाराजगञ्ज शाखामा कार्यरत प्रहरी जवान डम्मलाल उपाध्याय सहित तीन जना पक्राउ परेका छन् ।

प्रहरी जवान उपाध्याय सहित रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भई काठमाडौँको बुढानिलकण्ठ बस्ने मनोज भुजेल र खोटाङको दिक्तेल–११ घर भएका विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी जवानले अन्य ४ जनासँग मिलेर विदेशबाट हस्तकला चलाउनेले ल्याएको सुन, आईफोन र एपल कम्पनीको ल्यापटप लुटेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिनुभयो । एसपी आचार्यका अनुसार उनीहरुले आईफोन–१४ र सामसुङ अल्ट्रा–२४ मोबाईल दुई/दुई थान तथा एप्पल कम्पनीको एउटा ल्यापटप लुटपाट गरेका थिए ।

साथै विदेशबाट मणीकुमार राईले मगाएको ४ तोला बराबरको दुई थान सुनको सिक्री पनि उनीहरुले नै लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले आँफुहरु प्रहरी भएको भन्दै लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी आचार्यले बताउनुभयो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गोदावरी जाँदै गरेको ट्याक्सीलाई मोटरसाईलबाट फलो गरेर ललितपुरको सातदोबाटोस्थित कृषि अनुसन्धान परिषद् नजिकै पुगेपछि लुटपाट गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा पठाईएको प्रहरीले जनाएको छ ।